Kakhara सबैको खबर सम्पूर्ण खबर
जाजरकोट भूकम्पको पुनर्निर्माणमा भइरहेको ढिलाइ विरुद्ध नेकपा रुकुम पश्चिमले सङ्घर्ष गर्ने 

नेपाली कम्युनिस्ट पार्टी नेकपा रुकुम पश्चिमको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मङ्गलवार मुसिकोटको शेरिगाउँमा विस्तारित बैठक तथा प्रशिक्षण भएको हो । 

केन्द्रीय सदस्य तथा जिल्ला संयोजक गोविन्द रोकाको अध्यक्षतामा भएको बैठकले केन्द्रीय कार्य संयोजन समितिको निर्णयको आधारमा तत्कालको लागि पार्टीको जिल्ला समिति बढीमा २२९ सदस्यीय हुने र जिल्ला समितिमा ७५ सदस्यीय सचिवालय र १३ सदस्यीय कार्य संयोजन समिति हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले २०८३ जेठ मसान्तभित्र सबै तहका पार्टी समिति र जवस/मोर्चाका सङ्गठनहरूको एकता/समायोजनको काम सम्पन्न गर्ने, साउन मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, भदौ १५ सम्म वडा समितिहरूको एकता अधिवेशन सम्पन्न गर्ने र भदौ १६ देखि मसान्तसम्म पालिका समितिहरूको एकता अधिवेशन र २०८३ असोज मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैबिच नेकपा रुकुम पश्चिमले श्रम शिविर/जनसेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी जेठ र असार महिनामा हरेक वडा समितिहरूले कम्तीमा एक/एक वटा श्रम शिविरको योजना बनाएर कार्यान्वयन निर्णय भएको नेकपाका केन्द्रीय सदस्य द्वय गोविन्द रोका सचिन र सुरज परियारको हस्ताक्षरमा निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यसैअन्तर्गत टोल समितिको योजनामा शहीद परिवार, घाइते अपाङ्ग योद्धाहरूको घरमा, विपन्न कार्यकर्ताहरूको घरमा जनसेवाका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने निर्णय भएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ । 

त्यस्तै नेकपा रुकुम पश्चिमले जाजरकोट भूकम्पको पुनर्निर्माणमा भइरहेको ढिलाइका विरुद्ध सङ्घर्ष गर्ने भएको छ । निजी आवास पुन निर्माणका सम्बन्धमा भइरहेको प्रशासनिक ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउन पार्टीको नेतृत्वमा चरणबद्ध सङ्घर्षको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । 

पार्टीका अनुसार पहिलो चरणको कार्यक्रम अन्तरगत यही वैशाख २१ गते सोमवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र त्यसको प्रतिक्रियाको आधारमा थप कार्यक्रम तय गरिने छ । शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा बैठक तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update