Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन असामान्य र अस्वाभाविक प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भनेका छन् । आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुम पश्चिम पुगेका प्रचण्डले मुसिकोटमा भएको पत्रकार सम्मेलनमा बोल्दै फागुन २१ गतेको निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक भन्नुभएको हो । 

उहाँले भन्नुभयो–‘परिणाम जस्तो आएको छ, त्यो पनि कयौँ ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन, कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता, कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए, त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन ।’

यसको अध्ययन र अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको निष्कर्ष रहेको उहाँले बताउनुभयो । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै २ तिहाइको मतलाई भने आफूहरूले स्वीकार गरेको पनि उहाँले बताउनुभयो । प्रचण्डले आफ्नो पार्टीले सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा काममा आलोचना गर्ने तथा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । 

त्यस्तै उहाँले नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने बताउनुभयो । वडा देखि केन्द्रसम्म निर्वाचनबाट नेतृत्व चयन हुने र प्रत्येक कमिटीमा ५० प्रतिशत युवा र नव युवाको प्रतिनिधित्व रहने उहाँले बताउनुभयो । 

संयोजक प्रचण्डले सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको बताउनुभयो । ‘हाम्रो पार्टी मात्र राम्रो बनाएर हुँदैन, नेपालको सिंगाे कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक छ, अहिलेको निर्वाचनमा कम्युनिस्टले पाएको धक्कालाई ध्यानमा राखेर सिंगाे कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने गरी पार्टीको विस्तारित बैठकले निर्णय गरेको छ, यसका लागि पहल सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो ।

यसैबिच उहाँले सरकारले गरेका पछिल्ला निर्णयहरूको विरोध समेत गर्नुभयो । सुकुम्वासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज, विद्यार्थी संगठनमाथिको प्रहार, अध्यादेश ल्याउने र बोलाइसकेको संसद् बैठक स्थगित गर्ने निर्णय असंवैधानिक रहेको उहाँले बताउनुभयो । 

पछिल्ला केही कदमले सरकार निरङ्कुशता तर्फको यात्रा हुनसक्ने देखिएको भन्दै उहाँले सरकारलाई सच्चिन आग्रह समेत गर्नुभयो । उहाँले आफू अहिलेको सरकारको अभिभावक रहेको भन्दै उहाँले नराम्रा काममा सधैँ खबरदारी गरिरहने पनि बताउनुभयो । 

यसका साथै उहाँले लामो इतिहास भएका दलबिचको सहकार्यलाई बढाएर संविधान, गणतन्त्रको रक्षाका लागि नेतृत्व गर्ने र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई थप स्थापित गर्न पहल गर्ने उहाँले बताउनुभयो । 

रुकुम पूर्व र रुकुम पश्चिमको विकासका लागि आफू निर्वाचित भएपछि पहल सुरु गरिसकेको बताउँदै देखिने र जनताले अनुभूत गर्ने गरी आफ्नो पालामा काम हुने उहाँले बताउनुभयो । आफूले पूरा ५ वर्ष काम गर्न पाएको अवस्थामा आफूले निर्वाचन जितेका ठाउँका तीव्र विकास भएका पनि उहाँले दाबी गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update