Kakhara सबैको खबर सम्पूर्ण खबर
झुट र पूर्वाग्रहप्रति कटाक्ष गर्दै प्रजिअ  थानी बिदा
प्रजिअ थानी ।

करिब ९ महिनासम्म रुकुम पश्चिम जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । बिदाइका क्रममा उहाँले आज सार्वजनिक गरेको सन्देश(फेसबुक)मा राजनीतिक तथा व्यक्तिगत आग्रह–पूर्वाग्रहबाट प्रभावित भई झुट बोलेर जनतालाई भ्रममा पार्ने व्यक्तिहरूप्रति कटाक्ष गर्नुभएको छ । उहाँले राष्ट्र र नागरिक सेवामा आफूलाई साथ दिने व्यक्ति तथा संस्थालाई सधैँ सम्झिरहने उल्लेख गर्दै “म सम्झिन चाहन्न ती व्यक्तिहरू, जो राजनीतिक र व्यक्तिगत आग्रह–पूर्वाग्रहबाट ग्रसित थिए अनि झुट बोलेर जनतालाई झुक्क्याइरहेका थिए,” भन्ने टिप्पणी गर्नुभएको छ ।

उहाँको उक्त अभिव्यक्तिलाई जिल्लाको प्रशासनिक तथा राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भएपछि उहाँले प्रमुख जिल्ला अधिकारीको भूमिकाबाट औपचारिक बिदाइ  लिनुभएको हो । बिदाइ सन्देशमार्फत उहाँले जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षा निकाय, विभिन्न कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलमा आबद्ध व्यक्तिहरू तथा पेसागत सङ्गठनका प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त  गर्नुभएको छ ।

सरुवा नियमित प्रक्रिया भए पनि कार्यकालमा आत्मीय बनेका व्यक्ति, ठाउँ र सम्बन्धहरू छोड्नुपर्दा मनमा नरमाइलो लागेको उहाँले बताउनुभएको छ । “म तपाईँहरूसँगै छु, केवल भौगोलिक दूरी मात्र बढेको हो,” भन्दै उहाँले जिल्लाप्रतिको आत्मीयता व्यक्त गर्नुभएको छ । जिल्लामा भूकम्पपछिको विस्तृत क्षतिको आकलन, पुनः निर्माण लगायतका काममा गैर जिम्मेवार बनेको भन्दै प्रजिअ थानीको स्थानीय तहका जनप्रतिनिधिहरूले आलोचना गर्दै आएका थिए । थानीको सरुवा भएसँगै रुकुम पश्चिममा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा निशानराज गौतम आउनुभएको छ । उहाँ हिजो नै पद बहाली भइसक्नु भएको छ ।

c0bd1830-bc58-4e14-a860-2c1fbaa9c35d-1779279688.jpeg

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update