Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगामा मासु पसल अनुगमनः ५ व्यवसायीलाई जरिवाना, ६ लाई सचेत गराइयो 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको छ । शनिवार पशु अस्पताल तथा पशु सेवा कार्यालयको आयोजना तथा  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खलङ्गामा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका ५ वटा पसललाई जरिवाना गरिएको छ भने ६ वटा पसललाई सचेत गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर अभिनव जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा ११ वटा मासु पसलको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा सरसफाइ, खाद्य सुरक्षाका मापदण्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूची, बिलबिजक, आधारभूत सरसफाइ लगायतका विषयमा निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले मापदण्ड पालना नगरेको पाइएपछि मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको ओली मासु पसल, सोलाबाङ्गी मिट मार्केट, केसी फ्रेस हाउस, त्रिवेणी चोकमा रहेको हिमाली मासु पसल र बागबजारमा रहेको कोसल फ्रेस हाउसलाई ५÷५ हजारका दरले जरिवाना गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी पहिलो पटक अनुगमन गरिएका र सामान्य सुधार गर्नुपर्ने अवस्था देखिएका अन्य ६ वटा पसललाई भने आवश्यक निर्देशनसहित सचेत गराइएको छ । अर्को पटक अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएमा ती सचेत गराइएका व्यवसायीलाई जरिवाना समेत गरिने चेतावनी दिएको छ ।

साथै व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी स्वच्छ तथा गुणस्तरीय मासु बिक्री वितरण गर्न निर्देशन दिइएको डाक्टर जिसीले जानकारी दिनुभयो । उपभोक्ता हित संरक्षण, खाद्य स्वच्छता कायम तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने बताइएको छ ।

अनुगमन कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जिसी, पशु स्वास्थ्य अधिकृत ज्ञानुकुमार शर्मा, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत तोषराज केसी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख प्रेमप्रकाश केसी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का, कृषि विकास कार्यालयका लेखा अधिकृत मोहन रिजाल, पशु सेवा शाखा मुसिकोट नगरपालिकाकी प्रमुख सरस्वती सापकोटा खड्का, पत्रकार महासंघ उपाध्यक्ष देवकुमार ओली, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।

0edd46c4-a4e4-40d6-9081-175075f41ef9-1780737186.jpeg

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update