Kakhara सबैको खबर सम्पूर्ण खबर
खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपनाका लागि मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण

 रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा नियमित मर्मत सम्भार  सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा “मर्मत सम्भार कार्य योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको हो । 

कार्यक्रममा खानेपानी तथा सरसफाइ योजनाहरूको दीर्घकालीन सञ्चालन, सम्भावित प्राविधिक समस्याको समयमै समाधान, स्थानीय स्तरमा मर्मत सम्भार संयन्त्रको सुदृढीकरण तथा योजनाप्रतिको स्थानीय स्वामित्व अभिवृद्धिका विषयमा विशेष छलफल गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरूलाई मर्मत सम्भार कार्य योजना निर्माण तथा कार्यान्वयनका विभिन्न पक्षबारे जानकारी गराइएको थियो ।

 कार्यक्रमले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तरीय तथा दिगो व्यवस्थापनका लागि स्थानीय तह, उपभोक्ता समिति र समुदायको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । त्यस्तै योजनाहरूलाई दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न मर्मत सम्भार कार्य योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूको भनाई थियो । खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना सुनिश्चित तथा  नियमित मर्मत सम्भार गर्न समुदायको सक्रिय सहभागिता र स्थानीय तहको समन्वय अपरिहार्य रहेको सहभागीहरूले जोड दिएका ।  ​

WhatsApp-Image-2026-06-12-at-12.53.45-1781256668.jpeg

रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक ओलीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण क्षमता विकास संयोजक जगदीश खड्काले गर्नुभएको थियो । नगर प्रमुख रवि केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख धनकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजेश गौतम, कार्यक्रम कार्यान्वयन भइरहेका वडाका वडाध्यक्षहरू, खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका प्रमुख तथा प्रतिनिधिहरू, उपभोक्ता समितिका अध्यक्ष तथा सचिवहरू, ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरू तथा रुकुमेली समाज विकास केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update