रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा घर प्लास्टर गर्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ३ः२० बजेको समयमा मुसिकोट नगरपालिका–५ सेरीगाउँ स्थित रमा खड्काको दुई तले घरको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा सोही वडाको बागबजारका ४४ वर्षीय कृष्णबहादुर खड्काको मृत्यु भएको हो ।
प्लास्टर गर्ने क्रममा उहाँ घरमुनि रहेको शौचालयको छतमा खस्दा टाउको र दाहिने हातमा गम्भीर चोट लागेको प्रहरीले प्रहरीले जनाएको छ । घाइते खड्कालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।
घटनाको समयमा उहाँकी श्रीमती पुष्पा खड्का पनि साथमा रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


1686475760.jpg)


-1759842583.jpg)