जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ब्राउन सुगर सहित २ युवालाई पक्राउ गरेको छ । आइतबार साँझ ७ बजेतिर प्रहरीले मुसिकोट नगरपालिका ५ शेरिगाउँबाट ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट प्लास्टिक सहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
खलङ्गाको पातुखोलाबाट रुकुम पूर्व तर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकललाई शङ्काको आधारमा चेक गर्दै दुवै जनाको साथबाट उक्त ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराउनुभयो ।
चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुडिया ११.२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुडिया २.०३ ग्राम गरी कुल प्लास्टिक सहितको १३.२९ ग्राम ब्राउन सुगर फेला परेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी हवलदार गोवर्द्धन खत्रीको कमान्डमा खटिएको ५ जनाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । रुकुम पश्चिम प्रहरीले पछिल्लो समय लागु औषधमा कडाइ गरिरहेको छ । केही दिन अघि मात्र आठबिसकोटबाट ठुलो परिमाणमा अफिम सहित ४ जनालाई पक्राउ गरेको थियो ।


1686475760.jpg)


-1759842583.jpg)