कलाकार एलिना चौहानले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को राडीमा चलिरहेको महोत्सव सञ्चालक मध्येका एक डिल्ली परियारलाई गम्भीर आरोप लगाउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत परियारको फोटो राखेर ‘ठग’ भनेपछि विवाद सुरु भएको छ । फेसबुकमा राखिएको उक्त पोस्टमा थुप्रै प्रतिक्रियाहरू आएका छन् । चौहानले त्यस पोस्टमा कुनै कारण नखुलाई ‘ठग’ भनेपछि परियारले पनि फेसबुक मार्फत नै घुमाउरो रूपमा प्रतिवाद गर्नुभएको छ ।

एलिनाको पोस्टपछि परियारले व्यङ्ग्यात्मक प्रतिक्रिया दिनुभएको छ । त्यसपछि फेसबुकबाटै एलिनाको कडा प्रतिक्रिया आएको छ । उहाँले ‘दुःख देखाइस् भने बरु म दान दिन्छु, तर मलाई छल्ने काम नगर’ लेख्नुभएको छ । त्यति बेलासम्म विवादको खास कारण केही पनि खुलेको छैन । धेरैले महोत्सवमा ल्याएर पारिश्रमिक नदिएकोले यस्तो लेखेको हुनसक्ने लख काटिरहेका छन् ।

एलिनाको दोस्रो स्ट्याटसपछि भने परियारले भिडिओ मार्फत एलिनाकाे स्टाटसले आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे र कानुनी उपचार खाेज्ने समेत बताउनुभएकाे छ । उहाँले एलिना चौहानसँग पछिल्लो तीन वर्ष देखि सहकार्य भइरहेको र आफूले नै सञ्चालन गरेका महोत्सवमा पटक पटक बोलाएर तोकिएको पारिश्रमिक, आउने जाने गाडी तथा हवाई टिकटको व्यवस्थापन गरेको भन्दै आफूले कहिले पनि नठगेको स्पष्ट पार्नुभएको छ । यस पटक पनि आफूले तोकिएकै पारिश्रमिक दिएर पठाएको तथा काठमाडौँबाट सुर्खेतसम्मको हवाई टिकट व्यवस्था गरेको, सुर्खेतबाट राडीसम्म आफ्नै गाडीमा ल्याएको र त्यसरी नै पठाएको बताउनुभएको छ ।
साथै उहाँले आफूले नेपालगन्जबाट काठमाडौँको टिकट काट्दा किन सुर्खेत गएको भन्दै एलिनालाई प्रश्न गर्नुभएको छ । सुर्खेतमा बसेको खर्च समेत आफैले दिएको उक्त भिडिओ मार्फत स्पष्ट पार्नुभएको छ । ११ः५० को बुद्ध एयरको टिकट रोक्दा रोक्दै चौहान नगएको उहाँको दाबी छ । आफूसँग त्यसको प्रमाण समेत रहेको उहाँको भनाई छ । साथै उहाँले यस पटक धेरै दर्शक नआएको र पैसा धेरै नउठेकोले तोकिएको ८५ हजारमा ५ हजार कम भएको र अन्य सबै व्यवस्थापन आफूहरूले नै गरेको बताउनुभएको छ ।

यो विषयमा कखराले गायिका एलिना चौहानको प्रक्रिया लिएको छ । त्यस क्रममा उहाँले आफूलाई सुर्खेतमा लिएर अलपत्र छाडेको आरोप लगाउनुभएको छ । सुर्खेत जाउ भनेर गाडीमा राखेर पठाएको तर प्लेनको टिकट नकाटेर सुर्खेतमा अलपत्र पारेको उहाँको भनाई छ । ‘प्लेनको टिकेट मैले काटेको छु, अहिले बाटोमा राख्दिन्छु भनेपछि मैले टिकट काटेन, सुर्खेत गएँ, पछि नेपालगन्जबाट टिकट काटेको छ भन्छ, बुझ्दा टिकट बुक पनि गरेको छैन, मलाई नेपालगन्ज छाड्ने मान्छे पनि छैन, ड्राइभरले मलाई राति नै एउटा होटेलमा छाडेर गयो, यति अलपत्र पार्यो, आज मेरो अर्को प्रोग्राम भएको भए के हुन्थ्यो, उहाँले भन्नुभयो–सुर्खेतमा भन्ने बित्तिकै टिकट पाइँदैन, २ वटा मात्र प्लेन छ, आफूलाई चाहिदा खेरी प्रयोग गरेर पठाउने बेलामा त्यसरी फालेर, अपमान गरेर, आपत्मा त पार्नु भएनन् नि ।’
अनि आफूले कयौँ पटक फोन गर्दा पनि रेस्पोन्स नगरेको भन्दै चौहानले आक्रोश पोख्नुभयो । पैसाको भन्दा पनि आफूलाई दुःख दिएकोमा बढी आक्रोश रहेको उहाँले बताउनुभयो । तपाइलाई त नेपालगन्ज पठाएको रे सुर्खेत किन गयो भनेर प्रश्न गरिरहनुभएको छ नि त उहाँले भन्ने प्रश्नमा परियारले नै आफूलाई सुर्खेत पठाएको चौहानले दाबी गर्नुभयो । साथै उहाँले आफूले प्रत्येक कार्यक्रमबाट पूरा पैसा नपाएको समेत दाबी गर्नुभयो ।


1686475760.jpg)


-1759842583.jpg)