Kakhara सबैको खबर सम्पूर्ण खबर
लागु औषध सहित रुकुम पूर्वमा दुई जना पक्राउ  
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । गत आइतबार साँझ सिस्ने गाउँपालिका वडा नम्बर ६ खोपिचारबाट ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । खोपिचार स्थित मध्य पहाडी लोक मार्गमा लागु औषध कारोबार भईरहेको भनि विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका वडा नम्बर  ६ का अन्दाजी २५ वर्षीया अबिन केसी र सिस्ने गाउँपालिका वडा नम्बर २ का अन्जादी २९ वर्षीया शेरसिङ रोका मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिनुभयो । चेकजाँच तथा खानतलासी गर्ने क्रममा केसीको शरीरको तल्लो भागको भित्री बस्त्र भित्र प्लाष्टिकमा लुकाइ राखेको अवस्थामा लागु औषध फेला परेको थियो ।  लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो बस्तु बरामत गरेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो ।

विभिन्न रङका प्लाष्टिक भित्र बेरी राखिएको तीन ग्राम  चार सय मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो ।  प्रहरी निरीक्षक गोपाल न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी  टोलीले उनीहरुलाई पक्राउ गरेको हो । लागु औषध सहित उनिहरुलाई पनि नियन्त्रणमा लिइ रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वबाट लागु औषध सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update