Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भएको ग्यास अभावको विषय संसद्मा उठ्यो 

रुकुम पश्चिममा ग्यास अभाव भएको विषय संसद्मा उठेको छ । आजको प्रतिनिधि सभा बैठकमा रुकुमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्माले रुकुम पश्चिममा ग्यासको अभाव रहेको विषय उठाउँदै यो समस्या तत्काल हल गर्न सरकार समक्ष माग गर्नुभएको छ । 

‘रुकुम जिल्लामा लामो लाइन लाग्यो ग्यास सिलिन्डर प्राप्त गर्नका लागि, यो समस्या देशभरिमा छ, यसलाई तत्काल समाधान गर्ने गरी कदम अगाडि बढाइयोस् र अहिले आधा सिलिन्डर बजारमा पठाउँदा समस्या भइरहेको छ, अब आधा नभई भरी सिलिन्डर बजारमा पठाइयोस्,’ उहाँले भन्नुभयो । 

साथै उहाँले सरकार निरङ्कुश बन्दै गइरहेको बताउनुभयो । हरेक क्षेत्रलाई नियन्त्रण गर्न खोज्दा सरकारप्रतिको विश्वसनीयता गुम्दै गएको उहाँको ठहर छ । ‘सुरुमा हामीलाई खबरदारी गर्नुहोला, सरकारको काम कारबाहीको निगरानी गर्नुहोला भनियो, हामीले हो नि त भनेर पत्यायौँ, सोही अनुसार अघि बढ्यौँ, उहाँले भन्नुभयो–तर सरकारबाटै सांसद र संसद्को हुर्मत लिने काम भयो, यो बन्द गरियोस् ।’

सरकारले गरी खान नदिएपछि सार्वजनिक स्थानहरूमा गणेश नेपालीहरूले आत्मदाह गर्नुपर्ने अवस्था आएको, मिडियाको मुख थुन्न सरकारले लाजमर्दो हरकत गरिरहेको, सुकुम्वासीको समस्या हल नगरी थप पीडामा पारेको, सुकुम्वासीको पीडामा बोलिरहेको जेनजी अगुवाहरूलाई प्रहरी लगाएर बुट बजार्ने जस्ता हरकत गरेको भन्दै यी विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले मिनेटमा होइन सेकेन्डमा काम गर्छौँ भनेर दाबी गरिरहेको सरकारको त्यो सेकेन्ड कहिले आउँछ भन्दै प्रश्न समेत गर्नुभयो । भूकम्प पीडितका समस्या उस्तै रहेको, किसानले मल पाउन नसकेको, हरेक क्षेत्रमा निराशा नै निराशा रहेको भन्दै उहाँले सेकेन्डमा काम गर्छौँ भन्ने सरकार सेकेन्ड कहिले आउँछ, अहिले कि, अर्को वर्ष भन्दै प्रश्न गर्नुभएको हो । 

उहाँले जाजरकोट भूकम्प पीडितका समस्या हल गर्न तत्काल कदम चाल्न र यसका लागि कार्यविधिको समस्या रहेको भन्दै यसमा ध्यान दिन पुनः सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समस्या देखाउन मात्र होइन समाधान पनि गर्न सक्छौँ भन्नेले तुरुन्तै समाधान गर्न सकुन् भन्दै आफ्ना भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update