कर्णालीमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रुकुम पश्चिममै कल्याणी खड्काले शपथ खानुभएको हो ।
त्यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ खानुभएको छ । मिलन तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ कर्णाली प्रदेश सदस्य बन्नुभएको थियो भने कल्याणी तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट समानुपातिक तर्फ नै प्रदेश सदस्य बन्नुभएको थियो । हाल उहाँहरू दुवै जना नेपाली कम्युनिस्ट पार्टीका सांसद हुनुहुन्छ ।
तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नियुक्त हुनुभएको हो । तिनै जना समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो ।
यसअघि भौतिकमा विन्दमान विष्टको नाम फाइनल भएको थियो । तर साबिक समाजवादी कोटाबाट मन्त्री बनाइनुपर्ने भन्दै विवाद भएपछि अन्ततः साबिक समाजवादीकी सांसद कल्याणी खड्का नै मन्त्री बन्नुभएको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले झन्डै एक महिनापछि आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
उहाँकै दल नेकपाभित्र मन्त्रीका लागि लफडा हुँदा सरकार गठनमा ढिलाइ भएको थियो ।





-1759842583.jpg)