Kakhara सबैको खबर सम्पूर्ण खबर
भोटेकोशी बाढी : पीडितका लागि मुसिकोट–१३ ले कोषमा ५० हजार पठाउने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ नम्बर वडा कार्यालयले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

वडामा आज बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट लगायत विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा विनियोजित रकमअन्तर्गत रहेका तीन वटा विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रमका लागि छुट्टाइएको ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।

वडा समितिले विपद्को घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै उक्त रकम नियमानुसार कोषमा जम्मा गरिदिन मुसिकोट नगरपालिकाको कार्यालयलाई अनुरोध गरेको छ । पत्रमार्फत निर्णय कार्यान्वयनका लागि नगरपालिकासमक्ष अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update