भाद्र १० गते भोटेकोसी बाढीमा बेपत्ता रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ का हरिबहादुर खड्काको शव फेला नपरेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । उहाँ सकुशल नभेटिएको र शव पनि फेला नपरेपछि बेपत्ता भएको नवौँ दिनमा आज पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
रसुवा भन्सार कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत खड्का भोटेकोसीमा एक्कासि आएको बाढीपछि सम्पर्क विहीन हुनुभएको थियो । त्यसपछि खोजी गर्दा पनि फेला पार्न नसकेपछि अब सकुशल फेला पर्ने सम्भावना नदेखिएकोले हिन्दु धर्म संस्कार अनुसार कुशको शव बनाएर विधिपूर्वक अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन् ।
उहाँ बेपत्ता भएको खबर पाएपछि परिवार तथा आफन्तजन समेत प्रत्यक्ष खोजीमा खटिएका थिए । राज्यका संयन्त्र मार्फत खोजी गर्दा पनि उहाँको अवस्था बारे कुनै जानकारी नभएपछि आज कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारको भनाई छ । आर्यघाटमा रुकुमेली सेवा समाजकाे तर्फबाट श्रद्धाञ्जली कार्यक्रमकाे आयाेजना गरी १ मिनेट माैनधारण पनि गरिएकाे थियाे ।
हिन्दु धर्म संस्कार अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको लामो समयसम्म फेला नपरेमा वा शव प्राप्त हुने अवस्था नभएमा कुशको शव बनाएर दाहसंस्कार गर्ने परम्परा रहेको छ । यो विधिले मृतकको आत्मालाई मुक्ति मिल्ने र परिवारलाई मानसिक शान्ति मिल्ने धार्मिक विश्वास छ ।


-1788004022.jpeg)


-1759842583.jpg)