रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा त्रिवेणी प्रज्ञा प्रतिष्ठानको प्रथम स्थापना दिवस विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका २, सिम्रुतुस्थित सहिद स्मृति सभाहलमा आयोजित कार्यक्रममा ‘त्रिवेणी प्रज्ञा स्मारिका–२०८३’ विमोचन, स्रष्टा सम्मान तथा माध्यमिक विद्यालयस्तरीय एकल लोकगीत प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले दीप प्रज्वलन तथा ब्यानर वाचन गरेर गर्नुभएको थियो ।
त्रिवेणी प्रज्ञा परिषद्का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष एवं प्रतिष्ठानका कुलपति केसीको प्रमुख अतिथि तथा गाउँपालिकाका पूर्वअध्यक्ष झक्कुप्रसाद घर्ती विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ खगेश्वर भण्डारी, राप्ती साहित्य परिषद् जिल्ला शाखाका सचिव ओमबहादुर खत्री, कोषाध्यक्ष शशिराम घर्ती, कला, साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष नन्दकुमार घर्ती, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ओमप्रकाश बोहोरा, साहित्यकार दिलिपकुमार देवकोटालगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
विद्यालय स्तरीय एकल लोकगित प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालय, सिम्रुतुकी संगीता विक प्रथम हुनुभएको छ । उहाँले नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै विद्या विकास माध्यमिक विद्यालय, जिवाङ्गीकी मुना ओली द्वितीय हुँदै २ हजार रुपैयाँ, अन्धनाशक माध्यमिक विद्यालय, खुम्चेरीकी रोशनी खड्का तृतीय हुँदै १ हजार ५ सय रुपैयाँ र विद्या विकास माध्यमिक विद्यालय, जिवाङ्गीकी खुसी ओली सान्त्वना हुँदै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मौलिक लोकगीतमार्फत स्थानीय कला, संस्कृति, भाषा र परम्परा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने अतिथिहरुले स्थानीय भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा त्रिवेणी प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिष्ठानका सदस्य–सचिव नवराज खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा पहिलो स्थापना दिवसकै अवसरमा स्मारिका प्रकाशन, स्रष्टा सम्मान तथा लोकगीत प्रतियोगितामार्फत त्रिवेणी क्षेत्रको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्न सफल भएको प्रतिष्ठानले जनाएको छ ।





