जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने नागरिकको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८३/०८३ मा मात्रै १४ हजार ३७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जसमा ६ हजार ५ सय १७ महिला र ७ हजार ५२० पुरुष रहेको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा १२ हजार ८ सय ९७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकामा गत आर्थिक वर्षमा भने विवरण दर्ता बनाउनेको संख्या बढेको हो ।
दुई आर्थिक वर्षमा मात्र २६ हजार ९३४ जनाले विवरण दर्ता गराएको उहाँको भनाइ छ । कार्ड भने दुई आर्थिक वर्षमा २ हजार ४७१ जनाले मात्र प्राप्त गरेका छन् । त्यस्तै गत आर्थिक वर्षमा ४ हजार ९६१ नयाँ नागरिकता, ४ हजार २२१ नागरिकताको प्रतिलिपी, तीन जनाको नागरिकता रद्ध, १४७ नाबालक परिचयपत्र र २ हजार ८ सय १९ राहदानी कार्ड वितरण गरिएको प्रजिअ गौतमले जानकारी दिनुभयो । पछिल्लो सयम सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्रको महत्व बढ्दै गएको छ । नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्य राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण लगायत अन्य सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ,।।





