भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूको सम्झनामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, कालिकाथानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा भएको कार्यक्रममा बाढीमा परी मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट लगायतका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, नेपाली सेना तथा नेपाल प्रहरीका सुरक्षाकर्मीको सहभागिता थियो । त्यसैगरी विजयश्वरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए । साथै विपद्का बेला राज्य, नागरिक समाज र समुदायबीचको सहकार्य तथा मानवीय एकताको आवश्यकता रहेकाे बताएका थिए ।





