रुकुम पश्चिममा बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका– १ स्यालाखदीका स्थायी घर भई हाल आठबिसकोट–९ राडीबजार बस्दै आएका ४२ वर्षीय जीवन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि बुढा फरार रहँदै आएकामा हिजो दिउँसो आठबिसकोट नगरपालिका–९ राडीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउपछि बुढालाई हिरासत कक्षमा राखी मुद्दाको अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत उपस्थित गराइएको छ । बुढाविरुद्धको मुद्दामा २२ लाख ४३ हजार रुपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनलाई निरन्तरता दिँदै आएको छ ।





