Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निर्वाचनको तयारी सुरु 
फाइल फाेटाे

सरकारले आगामि वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तय गरेपछि रुकुम पश्चिममा पनि निर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगको पत्राचार अनुसार जिल्लामा निर्वाचन तयारी सुरु गरिएको हो । मतदान स्थल र मतदान केन्द्र सिफारिसका विषयमा छलफल सुरु भएको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको पहिलो बैठक बसेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा आईतबार बसेको बैठकले जिल्लाका स्थानीय तह र क्रियाशिल राजनितिक दलहरुलाई मतदान स्थल र केन्द्रका बारेमा सुझाव पेश गर्न पत्राचार गरेको छ ।

साविकका मतदान स्थल तथा केन्द्रहरुको नाम, ठेगाना, भौतिक पूर्वाधार लगायतका पक्षलाई ख्याल गर्दै गर्नुपर्ने सुधार, परिमार्जन के छ सुझाव पेश गर्न ६ वटै स्थानीय तह र जिल्लामा क्रियाशिल राजनितिक दलहरुलाई पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी सुमन पन्थले जानकारी दिनुभयो । स्थानीय तह र राजनितिक दलबाट प्राप्त सुझावका आधारमा समितिको दोस्रो बैठकमा छलफल हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा सहमतिको विन्दुमा पुगेर जिल्लाबाट मतदान स्थल र मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाईने छ । यसैविच निर्वाचन आयोगले जिल्लामा ७३ मतदान स्थल र १ सय २१ वटा मतदान केन्द्र प्रस्ताव गरी पठाएको छ ।

जिल्लाबाट मतदान स्थल र केन्द्र सिफारिस गरि पठाउदा यसलाई पनि आधार बनाईने जिल्ला निर्वाचन अधिकारी पन्थको भनाई छ । मतदाता संख्याका आधारमा आयोगले प्रस्तावित मतदान स्थल र केन्द्रको संख्या तोकेर पठाएको हो । हाल जिल्लामा ७३ मतदान स्थल र १ सय ११ वटा मतदान केन्द्रहरु रहेका छन् । यसैविच निर्वाचनका अन्य कार्यक्रमहरु पनि तय भएको र माघ सुरुबाट सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update