Kakhara सबैको खबर सम्पूर्ण खबर
चौतारा मेलामा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने  
फाइल फाेटाे ।

रुकुम पश्चिममा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडी बजारमा ३२ औँ चौतारा मेलाको अवसरमा खुला महिला, पुरुष भलिबलका साथै विविध सांस्कृतिक तथा खेलकुद प्रतियोगिता हुन लागेका छन् ।

आगामी कात्तिक २७ गते देखि प्रतियोगिता सुरु हुन लागेका हुन् । मेला मूल आयोजक समितिले प्रतियोगिताको आयोजना गरेको हो । महिला, पुरुष भलिबल प्रतियोगिताको सबै विधामा गत वर्ष भन्दा यो वर्ष पाँच हजार रुपैयाँ पुरस्कार वृद्धि गरिएको छ ।

गत वर्ष पुरुष भलिबल प्रतियोगितामा तीन लाख १५ हजार पाँच सय ५५ रुपैयाँ पाएको विजेताले यो वर्ष  नगद तीन लाख २० हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक रतन चन्दले जानकार दिनुभयो । 

उहाँका अनुसार उप विजेताले नगद दुई लाख २० हजार पाँच सय ५५ रुपैयाँ र सान्त्वना दुई टिमले नगद ८५ हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने भएका छन् ।

यस्तै खुला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ८० हजार पाँच सय ५५ रुपैयाँ, दोस्रो हुने टिमले नगद एक लाख ३० हजार पाँच सय ५५ र सान्त्वना हुने टिमले नगद ४५ हजार पाँच सय ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

मेलामा खुला लोक दोहोरी, डोरी तान्ने, घैँटो फोर लगायतका प्रतियोगिताको पनि आयोजना गरिएको छ । लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार, दोस्रो हुने समूहले १५ हजार र सान्त्वना हुने दुई टिमले समान पाँच/पाँच हजार रुपैयाँको साथमा प्रमाण पत्र पाउने भएका छन् ।

डोरी तान्ने प्रतियोगिताको विजेताले नगद १२ हजार रुपैयाँ साथमा प्रमाण पत्र प्राप्त गर्ने छ । मेलामा झाँकी सहित आउने सांस्कृतिक समूहलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update