Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण सुरु, ९ टोलीले प्रतिस्पर्धा गर्दै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ बेल्टापु खेल मैदानमा सानीभेरी प्रिमियर लिग (एसपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । आयोजक सानीभेरी प्रिमियर लिग (एसपीएल) सञ्चालन समितिका अनुसार प्रतियोगितामा विभिन्न ठाउँका ९ वटा टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

प्रतियोगिताको विजेता टोलीले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७५ हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक मदन ओलीले जानकारी दिनुभयो । त्यस्तै, प्लेयर अफ द सिरिजलाई पाँच हजार रुपैयाँ तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । 

spl3-1793360215.jpeg
प्रत्येक खेलका म्यान अफ द म्याचका लागि एक हजार पाँच सय रुपैयाँ पुरस्कारसमेत व्यवस्था गरिएको छ । खेल हार्ड लेदर बलबाट सञ्चालन भइरहेको छ भने प्रतियोगिताका लागि राष्ट्रिय अम्पायर नरेश थापा सहितको टोली ल्याइएको छ । प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न लागिपरेको आयोजकले जनाएको छ ।  

क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै गाउँपालिकाले खेलकुदको विकासका लागि विशेष ध्यान दिएको र यो प्रतियोगिताले जिल्लाको क्रिकेट विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

spl-1793360213.jpeg
जिल्लामा क्रिकेटले गति लिएको भन्दै उहाँले यस प्रतियोगिताले पनि जिल्लाको क्रिकेट विकासमा टेवा पुगेको उहाँको भनाई छ । स्थानीय युवाहरुको पहलमा यो प्रतियोगिता आयोजना भइरहेकोमा खुसी व्यक्त गर्दै उहाँले प्रतियोगितालाई आर्थिक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत उहाँले बताउनुभयो । 

‘गतवर्ष पनि हामीले यो प्रतियोगिताका लागि सहयोग गर्न खोजेका थियौँ, आयोजकले आवश्यक नभएको बताउनुभयो, यो वर्ष पनि हामी सहयोग गर्न तयार छौँ, आर्थिक समस्या छ भने भन्नुहोला, गाउँपालिका सहयोग गर्न तयार छ,’ उहाँले भन्नुभयो । 

spl-2-1793360211.jpeg
मदन ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको प्रमुख र राष्ट्रिय अम्पायर नरेश थापाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सचिव मनिष खड्का, कोषाध्यक्ष नरबहादुर नेपाली, राप्ती ज्ञानोदय माविका विव्यस अध्यक्ष मोतिराम रोका, प्रअ चन्द्रबहादुर परियार लगायतको आतिथ्यता रहेको थियो । 

उद्घाटन कार्यक्रमको सञ्चालन प्रतियोगिताको आर्थिक समिति संयोजक नारायण ओलीले गर्नुभएको थियो । 

spl1-1793360214.jpeg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update