रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घरको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले रिबन काटेर आज उक्त घरको उद्घाटन गर्नुभयो । गर्भवती तथा सुत्केरी महिला र उनका कुरुवाहरूलाई बस्न सहज होस भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि आज बिहान एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरिएको हो । उद्घाटनसँगै प्रसूति कुरुवा घर सञ्चालन समेत हुने भएको छ ।
वान हर्ट वर्ल्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बनेको वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । घर निर्माणमा २९ लाख ४८ हजार ७ सय १८ रुपैयाँ खर्च भएको छ । ४ लाख अस्पताल विकास समितिको हो भने बाँकी सबै रकम वान हर्ट वर्ल्ड वाइडको रहेको गिरीले बताउनुभयो । उक्त भवन निर्माणका लागि गत वैशाख ३ गते सम्झौता भएको थियो ।

यो घरमा आर्थिक रूपमा विपन्न तथा टाढाका सुत्केरी, गर्भवती तथा तिनका कुरुवाहरू बस्न पाउने संयोग गिरीको भनाई छ । ‘मानौँ आठबीसकोटको स्यालाखदीबाट प्रसूति सेवाका लागि गर्भवती आउनुभयो, तर उहाँलाई २ दिनपछि मात्र अस्पतालमा भर्ना गर्नुपर्ने देखियो, यस्तो अवस्थामा उक्त गर्भवती घर जान पनि सम्भव नहुने र आर्थिक रूपमा विपन्न भएको अवस्थामा होटेलमा पनि बस्न नसक्ने भएकोले उक्त गर्भवती तथा तिनका कुरुवा निःशुल्क रूपमा यो घरमा बस्न पाउने छन्, गिरीले भन्नुभयो ।
कुरुवा घरमा चार वटा बेड रहेका छन् । भान्साको पनि व्यवस्था रहेको छ । गर्भवती तथा सुत्केरीलाई मापदण्ड अनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ । अब दुर्गमबाट प्रसूति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेका विपन्न परिवारका आमा तथा गर्भवती महिलालाई होटेलमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ । यसले सुरक्षित मातृत्वमा जोड दिने र स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।

प्रसूति कुरुवा घरको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले यसको पूर्ण सदुपयोगका लागि अस्पताल र अस्पताल विकास समितिलाई आग्रह गर्नुभयो । साथै उहाँले खास समस्यामा रहेका सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता दिन अनुरोध पनि गर्नुभएको छ । ‘पहुँचका आधारमा सक्ने अवस्थाकालाई पनि यहाँ राख्नुभयो भने यसको महत्त्व रहने छैन, खासमा जसका लागि भनेर कुरुवा घर बनेको छ उनीहरूलाई नै राख्नुहोला, भनसुन नचलोस्, उहाँले भन्नुभयो ।’
त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले सुरक्षित मातृत्वका लागि प्रसूति कुरुवा घरले महत्त्वपूर्ण महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यका क्षेत्रमा नगरपालिका गम्भीर रहेको बताउँदै उहाँले होम डेलिभरीलाई शून्यमा झार्ने र स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने काममा नगरपालिका लागिरहेको बताउनुभयो । यसका लागि सबै सरोकारवालासँग समन्वय गरिरहेको र आगामी दिनमा पनि गर्ने उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले प्रसूति कुरुवा घरको निरन्तरताका लागि जिल्लास्थित सबै निकायको योगदान आवश्यक रहेकोमा जोड दिनुभयो । ‘एउटा एउटाले गर्दा सफल नहुन सक्छ सबैले मिलेर थोरै थोरै गर्दा पनि धेरै हुनसक्छ उहाँले भन्नुभयो ।’ कार्यक्रममा सहभागी जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रसूति कुरुवा घर सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । जिल्ला अस्पतालका डाक्टर ओसिन पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका सदस्य दीपकराज खड्काले गर्नुभएको थियो ।

कुरुवा घरमा बस्ने गर्भवती तथा सुत्केरीले के के खान पाउँछन् ?
गर्भवती महिलालाई साबिक भन्दा ३ सय ५० बढी र करिब ७७ ग्राम प्रोटिन चाहिने हुँदा कुरुवा घरमा बस्ने गर्भवती महिलालाई बिहानको खाजा ७ बजे दूध एक कचौरा, पाउरोटी वा रोटी ३/३ वटा, उसिनेको अण्डा १ वटा र चना वा अन्य गेडागुडी १ कचौरा उपलब्ध गराइने छ ।
बिहानको खाना १० बजे भात २ कचौरा, दाल बोक्रा भएको १/२ कचौरा, साग सब्जी मौसमी २ कचौरा, छाला निकालिएको मासु वा यूटेला ४ टुक्रा वा ७/८ टुक्रा, सलाद इच्छा अनुसार, दिउँसोको खाजा २ बजे सुख्खा रोटी ३ वटा, गेडागुडी टुसा उमारेको १ कचौरा, दही १ कचौरा दिइने वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले बताउनुभयो ।

त्यस्तै दिउँसोको खाजा ५ बजे अण्डा १ वटा, कुनै फलफूल मौसमी १ वटा, बेलुकाको खाना पाकेको भात २ कचौरा, दाल बोक्रा भएको १/२ कचौरा, तरकारी १/२ कचौरा, साग सब्जी मौसमी १ कचौरा र सलाद इच्छा अनुसार गरी दैनिक ३ सय ५० देखि ४ सय रुपैयाँ सम्मको खाना खुवाइने गिरीको भनाई छ ।
उहाँका अनुसार सुत्केरी आमालाई पनि फरक फरक खालको खाना र खाजाको व्यवस्था गरिने छ । सुत्केरी आमाले दैनिक ४ सय ५० देखि ५ सय बराबरको खानेकुरा पाउने बताइएको छ ।





-1765202239.jpeg)

-1759842583.jpg)