Kakhara सबैको खबर सम्पूर्ण खबर
१५ दिनमा तीन भवनको ढलान, बाँकी काम पनि ६० प्रतिशत सम्पन्न
निर्माणको क्रममा जनविकास मावि ।

आधा महिनामा तीन भवन तयार अर्को भवन ढलानको तयारीमा, खेलमैदान तयार, उत्तरपट्टिको भित्ता लगाइयो । दक्षिणतिरको सिढि पनि निर्माण । पढ्दा र सुन्दा अच्चम लाग्न सक्छ । तर अच्चम मान्नुपर्ने छैन । किन भने यहाँ यस्तै गरी काम भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १०, घारीखोलामा १५ दिनमा यी सबै काम पूरा भएको छ । चैत २८ गते तीन भवनको ढलान भएको थियो ।

जन विकास माध्यामिक विद्यालयको भौतिक संरचना सुधार योजना अन्तर्गत म बनाउँछु मेरो गाउँ युवा क्लवको नेतृत्वमा आधा महिनामै विद्यालय र विद्यालय परिसरको आकार बदलिएको छ । चैत १३ गते म बनाउछु मेरो गाउँ अभियानको उद्घाटन भएको थियो । सोही दिनदेखि थालिएको काम हालसम्म आइपुग्दा कायापलट जस्तै बनेको छ ।

उक्त विद्यालयमा रहेका कच्चि भवन भत्काउनेदेखि नयाँ भवन तयार पार्ने सम्मका काम यही १५ दिनमा सम्पन्न भएका छन् ।विद्यालयका लागि तीन/तीन कोठाका २ र एउटा कोठाको अर्को एक भवन ढलान भइसकेको छ । ति भवन ढलानपछिको सेटिङमा राखिएको छ । १२ कोठाको शिक्षक आवास निर्माणको क्रममा छ ।

यो पनि ढलानका लागि तयार भइसकेको म बनाउछु मेरो गाउँ अभियान संयोजक तथा युवा क्लवका अध्यक्ष भिमराज केसीले जानकारी दिनुभयो । १० वटा शौचालय ढलानको अन्तिम तयारीमा छन् । यही समयमा विद्यालयका व्यवस्थित खेलमैदान तयार भएको छ भने विद्यार्थीलाई माथि उक्लिन सजिलो बनाउनका लागि तलबाट सिढी लाउने काम पनि सम्पन्न भएको छ ।

शिक्षक आवास आधुनिक बन्दै छ । एटेज बाथरुम सहितको यो भवनको काम पनि अन्तम चरणमा पुगेको छ । म बनाउछु मेरो गाउँ अभियानमा घारीखोलाबासी कस्सिकएर लागि परेका छन् । सक्नेले गच्छे अनुसारका नगद योगदान गरेका छन् । कर्मचारी,शिक्षक, बुद्धिजिवि तथा रोजगारीको शिलशिलामा बाहिर रहेको घारीखोलाबासी तथा अरु विभिन्न क्षेत्रका मनकारी युवाहरुले पनि नगद योगदान गरेका छन् ।

यसैबाट गाउँ बनाउने अभियानको सुरुवात भएको छ । हालसम्म ४५ लाख जति नगद संकलन भएको संयोजक भिमराजले बताउनुभयो । अरु पनि सहयोग संकलन हुने क्रममा रहेकाले अरु सहयोग जुट्ने आशा रहेको उहाँको भनाई छ । आफै पनि केही गर्न सकिन्छ गाउँ नगरसँग सहकार्य मात्रै गरेर पनि विकास हुन्छ भन्ने विश्वासले अभियान अघि बढाइएको भन्दै उहाँले सहयोग जुट्ने क्रम बढ्दै गएको बताउनुभयो ।

विद्यालयको भौतिक संरचना सुधार गरेपछि शैक्षिक गुणस्तर र गाउँको अरु विकासमा लाग्ने गरी योजना बनेको भिमराजको भनाई छ । स्थानीय आफै लागेपछि नगरपालिकाले पनि केही सहयोग गर्ने भएको छ । स्थानीयले जम्मा गरे जत्तिकै बजेट विनियोजन गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।

विद्यालयको फाउन्डेशनदेखि अरु काम गर्नका लागि नगरपालिकाले डोजर लगायतको आधारभुत सहयोग पनि गरिरहेको छ । यसमा घारीखोला तथा त्यस आसपासका सर्वसाधारणको ठूलो सहयोग छ । विहान ६ बजेदेखि राती १२ बजेसम्म सर्वसाधारणले काम गरेका छन् । आफ्नो गाउँ आफै बनाउने भनिएपछि जेष्ठ नागरिकदेखि बालबालिका समेत यो अभियानमा लागेका छन् ।

नियमित कामकाज गरेपछि कामकाज समयमै सकिने स्थानीय मनबहादुर केसीले बताउनुभयो । ‘सबै लागेपछि नहुने केही रहेनछ, हामी सबै लाग्यौं  र यो सम्भव भयो,’ केसीले भन्नुभयो । अर्की स्थानीय नदी खत्रीले सरकारको मात्रै बाटो नहेरी आफै लागेपछि गाउँ बनाउन सकिने रहेछ भन्ने लागेको बताउनुभयो । उहाँले विद्यालय बनाउन धेरै खर्च हुने भएकाले थप रकम सहयोगका लागि अपेक्षा गरिएको बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update