Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा जनजीवन सामान्य बन्दै, तीन ठाउँमा भने निषेधाज्ञा 
मुसिकाेट खलंगा बजार ।

रुकुम पश्चिममा जनजीवन सामान्य बनेको छ । जेन–जी आन्दोलनका कारण प्रभावित बनेको जनजीवन पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि सामान्य बनेको हो । शनिवार बिहानैबाट जिल्ला सदरमुकाम खलङ्गा सहित मुख्य बजार क्षेत्रहरूमा चहलपहल बढेको छ । 

आन्दोलनका कारण जनजीवन त्रसित भएकामा हाल भने उक्त त्रास हटेको छ भने बजार क्षेत्रमा खटिएको आर्मी फर्किएको छ । अहिले नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । आन्दोलन हिंसात्मक बनेपछि देशभरको जनजीवन प्रभावित बन्दा सुरक्षाको कमान्ड नेपाली सेनाले सम्हालेको थियो । 

अत्यावश्यक बाहेक बाहिर निस्किन नपाउने र यातायातका साधन बन्दको अवस्था थियो । आज बिहानैबाट भने तीन ठाउँ बाहेक अन्य ठाउँमा अवस्था सामान्य बनेको हो । जिल्लामा जनजीवन सामान्य रहेको प्रमुख जिल्ला अधिकारी दिनेश थानीले बताउनुभयो । 

तर जिल्लाका ३ ठाउँमा भने निषेधाज्ञा जारी छ । जिल्ला अदालत, जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयमा निषेधाज्ञा लगाइएको छ । यी बाहेक अन्य ठाउँमा भने जनजीवन सामान्य भइरहेको प्रजिअ थानीको भनाई छ । कारागार, अदालत र प्रशासनमा भने दुरी तोकेर निश्चित गतिविधि गर्न रोक लगाइएको छ । 

जिल्ला कारागारको २ सय मिटर वरिपरि तथा जिल्ला प्रशासन र जिल्ला अदालतको एक सय मिटर वरिपरि बिना स्वीकृति ५ जना भन्दा बढी व्यक्ति आवतजावत र भेला तथा जुलुस गर्न नपाइने उहाँको भनाई छ । यसो गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ । 

यो आदेश शुक्रवार साँझ ७ बजे बसेको सुरक्षा समितिको बैठकले जारी गरेको हो । जिल्ला कारागारबाट ८८ जना कैदी फरार भएका थिए । अझै ३० बढी कैदी बन्दी फरार छन् । कारागारको मुख्य सुरक्षा सेनाले नै सम्हालिरहेको छ । फरार कैदी बन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

nisedhgya-1757751439.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update