
रुकुम पूर्वमा वाल विवाह उच्च रहेको पाइएको छ । अशिक्षा, बेरोजगार, गरीबी, परम्परागत मुल्य मान्यतालाई पछ्याउनु र सामाजिक संजालको गलत प्रयोग लगाएतका कारणले जिल्लामा बाल विवाह गर्नेहरुको संख्या उच्च रहेको पाइएको हो । बाल विवाहको कारण व्यक्ति स्वयं देखि लिएर सामाजमा विभिन्न खालका समस्याहरु देखिने गरेका छन् ।
जिल्लामा सबैभन्दा बढी पुथाउत्तरगंगा गाउँपालिकामा डरलाग्दो अवस्था देखिएको छ । यूएमएन र मिक नेपालद्धारा सञ्चालित सक्षम परियोजनाले पुथाउत्तरगंगा गाउँपालिकाको ७ वटा वडामा गरेको सर्वेक्षणमा बाल विवाह उच्च रहेको पाइएको हो । सक्षम परियोजनाले गाउँपालिकाको ७, ८, १०, ११, १२, १३ र १४ नम्वर वडामा बाल विवाहको अवस्थाको सर्वेक्षण गरेको थियो । केहि समय अगाडि यी वडाका विद्यालय, किशोरी समुह, आमा समुह, बाल क्लब, वडा कार्यालय, गाउँपालिका र मण्डलीमा गरिएको सर्वेक्षणबाट एक वर्षको अवधिमा ३७ जनाको विवाह भएको छ । जसमा ३१ जनाले वाल विवाह गरेको परियोजनाका व्यवस्थापक हेमन्त राईले जानकारी दिनुभयो ।
यसमा पनि सबैभन्दा बढी १५ जनाको विवाह १८ देखि १९ वर्षको बिचमा हुने गरेको छ । यस्तै १६ जनाको १८ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको पाइएको छ । सबै भन्दा कम ६ जनाले मात्र उमेर पुगी विवाह गरेको व्यवस्थाापक राईको भनाई छ । गाउँपालिकाका ७ वटा वडाका २ सय १८ बालबालिका तथा किशोरकिशोरी र ४ सय २३ अभिभावक गरी ६ सय ४१ जनामा गरिएको सर्वेक्षणबाट यस्तो तथ्याङ्क आएको उहाँले बताउनुभयो ।
बाल विवाह गर्नेहरुमा छोरीको संख्या बढी रहेको छ । बालविवाह गर्नेमा ५५ प्रतिशत छोरी र ४५ प्रतिशत छोरा रहेका छन् । यो सर्वेक्षणको नतिजा हेर्न हो भने पुथाउत्तरगंगा गाउँपालिकामा वाल विवाहको दर अति उच्च रहेको छ । पुथाउत्तरगंगा गाउँपालिकाका ७ वडामा मात्र नभई जिल्लाभर नै यस्तो समस्या रहेको छ ।
पछिल्लो समय वाल विवाह न्यूनीकरणका प्रयासहरु पनि भएका छन् । अहिले सक्षम परियोजनाले गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेको छ । वाल विवाह न्यूनीकरणको लागि सरोकारवाला निकाय र समुदाय स्तर गरी दुई ठाउँबाट प्रयास भइरहेको परियोजनाका व्यवस्थापक राई बताउनुहुन्छ । उहाँका अनुसार समुदाय स्तर, बाल क्लब, किशोरी र आमा समुह र विद्यालय मार्फत सचेतना सशक्तिकरण र पैरवीका कामहरु भइरहेका छन् । यस्तै सरोेकारवाला निकायबाट निती, नियम, ऐन कानुन निर्माणसँगै कार्यान्वयन र अनुगमन गर्ने कार्य भइरहेको छ ।