Kakhara सबैको खबर सम्पूर्ण खबर
भारतमा ट्याङ्करको ठक्करबाट मुसिकोट ९ का एक युवकको मृत्यु
दुर्घटनाग्रस्त ठाउँ र दुर्घटनामा ज्यान गुमाएका कमल बुढा ।

दक्षिण भारतको कर्नाटक प्रदेशको उठ्पी भन्ने ठाउँमा तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा रुकुम पश्चिमका एक युवकको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ हिलका स्कुटर चालक ३१ वर्षीय कमल बुढा मगरको घटनास्थलमै मृत्यु भएको हो । भने स्कुटरको पछाडि बसेका पासाङ खड्का घाइते हुनुभएको छ । घाइते खड्काको उठपीमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै वडा अध्यक्ष शशीराम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार काममा जाने समयमा  घटना सोमबार बिहान ११ बजेतिर भएको हो । घटना भएको स्थानमा कोही आफन्त नभएका कारण शवको पोस्टमार्टम हुन सकेको छैन । घाइतेको पनि अवस्था बुझ्न समस्या भएको छ । शव नेपाल ल्याउने वा के गर्ने भन्ने विषयमा घरपरिवारसँग छलफल भइरहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । 

रोजगारीको सिलसिलामा गत वैशाख महिनामा बुढा र खड्का भारतको कर्नाटक प्रदेशकाे उठपी पुग्नुभएको थियो । मृतक बुढाको घरमा ४ वर्षको छोरा, ७ बर्सिया छोरी र श्रीमती हुनुहुन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update