Kakhara सबैको खबर सम्पूर्ण खबर

शिरमा अङ्गारे र सिमाइ छहरा, वरपर अग्ला पहाड, पहाडको काखमा रहेको तालमा तैरिने डुङ्गाले जो कोहीको मन लोभ्याउँछ । दैनिक जसो पर्यटकको चहलपहल बढ्दाे छ । हाल पानीले भरिभराउ पर्यटकीय महत्त्व बोकेको स्यार्पू ताल पुग्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ स्थित छिन्खेत बजार देखि तीन किलो मिटर उत्तर तर्फको कच्ची सडक छिचोल्नु पर्छ । कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा परिचित छ यो ताल । स्यार्पू ताल यो समयमा भरिभराउ छ । स्यार्पू ताल अङ्गारे, सिमाइ, धागे तथा बौलाह लगायत चार वटा छहराको सङ्गम स्थल हाे । बाह्रै महिना पर्यटक यस क्षेत्रमा आउने गरेको भए पनि असार देखि कात्तिकसम्म ताल हेर्न लायकको हुन्छ ।

स्यार्पू तालमा माछा पालन गरिएको छ । यहाँ घुम्न आउने पर्यटकहरूले स्यार्पूको माछा चाख्ने माैका समेत पाउँछन । यो समयमा स्यार्पू ताल घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । दैनिक ५० देखि एक सयसम्म आन्तरिक तथा बाह्य पर्यटक  स्यार्पूमा आउने गरेका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा अवस्थित स्यार्पू ताल निकै मनमोहक छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा स्यार्पू ताल फैलिएको छ । यद्यपि यो नाप धेरै वर्ष पहिलाको हो । पछिल्लो समय तालको नाप लिइएको छैन । स्यार्पू ताल पुग्नेहरूले आधुनिक डुङ्गाबाट तालको अवलोकन तथा तालमा सयर गर्ने गरेका छन् भने तालमा पालिएका माछाको स्वाद लिन पाएका छन् । यो स्यार्पू तालको विशेषता हो । यस क्षेत्रका युवाहरूले स्यार्पू तालमा सात वटा डुङ्गा सञ्चालन गरेका छन् ।

456106638_926698739454820_6205484350220617456_n-1724406719.jpg
पैदल तथा गाडी मार्फत पनि तालको अवलोकन गर्ने सकिन्छ । त्यसको लागि तालको चारै तिर रिङराेड निर्माण गरिएको छ । अघिल्लो पालिका सरकारले रोड निर्माण गरेको हो । तालको छेउमा मन्दिर पनि निर्माण गरिएको छ । स्यार्पूमा घुम्न आएकाहरू यस मन्दिरमा दर्शन समेत गर्ने गरेका छन् । यसका साथै ताल अवलोकनको लागि ५ नम्बर वडाको स्यार्पू गाउँ र ३ नम्बर वडाको ताल नजिकै भ्यु टावर पनि निर्माण गरिएको छ । यसबाट तालको सबै भूभाग देख्न सकिन्छ । तर उक्त भ्यु टावर व्यवस्थित भने छैनन् । स्यार्पु घुम्न आउने पर्यटकहरूलाई सजिलो होस् भन्ने उद्देश्यले ताल नजिकै होमस्टे समेत सञ्चालनमा छन् । यसबाट पर्यटकलाई खान र बास बस्न सजिलो भएको छ ।   स्यार्पूलाई थप प्रचारप्रसार गर्नको लागि हरेक वर्ष असोज ११ देखि १५ गते सम्म महोत्सव समेत लाग्ने गरेको छ । २०६७ साल देखि महोत्सव लाग्न सुरु गरेको हो ।

20240821042740_IMG_4960-1724406730.JPG
सरकारले हरेक वर्ष स्यार्पू ताल संरक्षण तथा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर पनि ताल संरक्षण र व्यवस्थित भौतिक संरचना निर्माण हुन सकेका छैनन् । यस वर्ष पनि कर्णाली प्रदेश सरकारले स्यार्पू ताल संरक्षणका लागि ३ करोड बजेट विनियोजन गरेको छ । रुकुम पश्चिमको मुसिकोट खलङ्गाबाट गाडी मार्फत डेढ घण्टा तथा पैदल यात्रा तय गरेर पनि करिब ४ घण्टा जतिमा  स्यार्पू  पुग्न सकिन्छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट गाडी मार्फत बाँफिकोट गाउँपालिका ७ को नदुवा, ६ नम्बर वडाको मग्मा हुँदै साढे एक घण्टामा स्यार्पू पुग्न सकिन्छ भने रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट गाडी मार्फत फलामे गौडा पिपल पोखरा सडक खण्ड प्रयोग गरेर यहाँ सम्म पुग्न सकिन्छ । 

455949821_926698712788156_2235762274810101137_n-1724406719.jpg

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update