
एम.पी.सी मिडिया प्रा.ली.ले सुरु गरेको kakhara.com ले आज कार्तिक १ गतेबाट प्रकाशनको पाँचौँ वर्ष पूरा गरेको छ । २०७७ साल कार्तिक १ गते घटस्थापनाका दिन सुरु भएको हाम्रो यात्रा आजबाट छैटौँ वर्षमा प्रवेश गरेको छ । एम.पी.सी मिडिया प्रा.ली.द्वारा सञ्चालित kakhara.com को पाँचौँ वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु ।
सबैको खबर, सम्पूर्ण खबर ! भन्ने नारालाई आत्मसाथ गरी हामी अघि बढिरहेका छौँ । कखराको सुरुवात हाम्रो आत्मविश्वासी प्रयास थियो । रुकुम जस्ता सूचना प्रविधिको पहुँचमा बिस्तारै पुग्दै गरेका जिल्लामा अनलाइन न्युज पोर्टल सञ्चालन गर्ने कुरा आफैँमा चुनौतीपूर्ण थियो । तर हामीमा उच्च आत्मविश्वास थियो । अब पत्रकारिताको ट्रेन्ड फेरिँदै छ भन्ने भान हामीलाई थियो । यसकै बलमा हामीले तत्कालीन चुनौतीलाई सहर्ष स्वीकार गर्दै एउटा सुनौलो यात्राको सुरुवात गरेका थियौँ । सुरुवातमा कयौँ आशङ्का, थोरै डर, अनि तीव्र इच्छा शक्ति थियो । आजको दिनमा उभिएर सुरुवातका दिनलाई समीक्षा गर्दा थप नयाँ गर्ने जोस र जाँगर पैदा भएको छ । सयौँको सङ्ख्यामा जिल्ला जिल्लामै अनलाइन न्युज पोर्टलहरू सञ्चालनमा आउने तर बिचमै हराउने नियतिको सिकार कतै हामी पनि हुने त होइन भन्ने डर अहिले पूर्ण रूपमा हटेको छ । हामी सम्पूर्ण पाठकहरूलाई विश्वास दिलाउन चाहन्छौँ यो पाँच वर्षको अवधिमा तपाईँहरूले जुन माया र साथ हामीलाई दिनुभयो यसले हामीलाई बिचमै निभ्न दिने छैन, निभ्ने छैनौँ ।
हामी पत्रकारिताको फुल प्याकेज बन्न खोजिरहेका छौँ । हामी केवल समाचारमा मात्र सीमित छैनौँ । विचार, ब्लग, विश्लेषण, पाठकका विभिन्न सृजनालाई समेत स्थान दिइरहेका छौँ । पत्रकारिताको परम्परागत शैलीमा व्यापक सुधार र परिमार्जन भइसकेको छ । हामी यसमा अग्रसर छौँ । हामीले मल्टिमिडियालाई जोड दिएका छौँ । भिडिओ र तथ्याङ्क केन्द्रित समाचारमा होमिएका छौँ । समाचारमा तथ्याङ्कलाई केलाउने र तथ्याङ्क प्रस्तुतीकरणको नयाँ नयाँ आयामलाई पच्छ्याइरहेका छौँ । यसका लागि कार्यरत पत्रकारहरूको क्षमता विकासमा ध्यान दिएका छौँ । पछिल्लो समय विकास भएको प्रविधिलाई नजिकबाट नियालिरहेका छौँ र सोही अनुसार सामग्री पस्किरहेका छौँ । पाठकको रोजाइ नै हाम्रो प्रमुख प्राथमिकता हो भने पाठकलाई नयाँ पन दिने समेत हाम्रो प्रमुख अभियान हो ।
साथै अहिले देशको परिस्थिति बदलिएको छ । सुशासनको मुद्दालाई मुख्य माग बनाएर जेन–जी समूहले थालेको आन्दोलनले देशमा नयाँ परिस्थिति सिर्जना भएको छ । विशेष गरी भ्रष्टाचार मुक्त देश निर्माणको मुख्य उद्देश्यले जेन–जी समूहले थालेको सङ्घर्ष हाम्रो पनि हो । हामीले स्थापना काल देखि नै सुशासन, विधिको शासनलाई मुख्य एजेन्डा बनाएका छौँ । भ्रष्टाचार, बेथिति, कुशासन माथि हामीले जहिले पनि प्रहार गर्यौँ, त्यो यात्रा अझै पनि जारी रहने प्रण गर्दछु । फेरिएको परिस्थितिमा सबै पक्ष संवेदनशील बन्न जरुरी छ । युवा पुस्ताको माग अनुसार २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा अब सबै पक्ष निर्वाचनमा होमिनुको विकल्प छैन । अहिलेको मुख्य आवश्यकता नै निर्वाचन हो । निर्वाचनलाई तोकिएकै मितिमा सफल पार्न हाम्रो तर्फबाट पनि सहयोग रहने स्पष्ट पार्न चाहन्छु ।
अन्त्यमा, म हाम्रा सम्पूर्ण सहकर्मी, पाठक वृन्द, विज्ञापनदाता, लगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु । नेपालीहरूका महान् शुभ दीपावली, छठ तथा नेपाल संवत् को पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।