Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी ११ मा काग तिहार विशेष मेला लाग्ने, भलिबल सहित अन्य कार्यक्रम हुने  

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ चौफा बजारमा काग तिहार विशेष मेला लाग्ने भएको छ । मेलाका अवसरमा विविध खेलकुद सहित अन्य कार्यक्रमको आयोजना गरिएको छ । 

मेलामा खुला वडा स्तरीय पुरुष भलिबल, बुद्धिचाल (चेस) सहित लोकदोहोरी लगायतका कार्यक्रम आयोजना गरिएको छ । भलिबलको विजेताले १ लाख नगद पुरस्कार पाउने आयोजक मेला व्यवस्थापन समितिले जनाएको छ । 

भलिबलमा उप विजेताले ५० हजार नगद पुरस्कार पाउँदा सान्त्वना हुने २ टिमले समान २० हजार पुरस्कार पाउने आयोजक समितिका खेलकुद संयोजक विवेक ओलीले जानकारी दिनुभयो । ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

दर्ता शुल्क ७ हजार तोकिएको छ । बुद्धिचालमा प्रथमले ५ हजार द्वितीयले ३ हजार र तृतीयले २ हजार नगद पुरस्कार पाउने छन् । यसको दर्ता शुल्क ५ सय रहेको छ । स्थान प्राप्त गर्नेलाई प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

लोकदोहोरीमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद प्राप्त गर्ने छन् भने दर्ता शुल्क २ हजार रहेको छ । साथै मेला उद्घाटनको दिन सहभागी सबै झाँकीहरू मयुर नाच, सिंगारु नाच, आमा समूह र अन्य नाचलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । 

असोज ३१ गते साँझ ५ बजेसम्म प्रतियोगितामा सहभागीताका लागि दर्ता गराउन सकिने छ भने कार्तिक १ गते बिहान १० बजे प्रतियोगिता उद्घाटन हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update