
रुकुम पूर्वको प्रमुख यातायात मार्ग मध्य पहाडी लोक मार्ग १९ दिन बन्द हुने भएको छ । लोक मार्गको रानिकोट–किटनी खण्डमा १९ दिनका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । बाँकी निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले कार्तिक १२ गतेदेखि कार्तिक ३० गतेसम्म सो खण्डमा आवागमन बन्द हुने भएको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले राजमार्गको निर्माण कार्य सहज र छिटो सम्पन्न गर्न सो अवधि भित्र यातायात आवतजावत रोक्ने निर्णय गरेको छ ।
बैठकमा मध्य पहाडी लोक मार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट र किटनीबीचको सडक खण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल आवागमन रोक्नुपर्ने आवश्यकता प्रस्तुत गरेका थिए । सो प्रस्तावका आधारमा बैठकले १९ दिनका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाउने निष्कर्ष निकालेको हो ।
निर्णयअनुसार, ठुला सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा कैचिमोड–धाउन्ने, पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिनेछ भने साना सवारीसाधनहरूले कैचिमोड–धाउन्ने, नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्नेछन् ।
बैठकले वैकल्पिक मार्गका सडकहरूमा आवश्यक मर्मतका लागि मध्य पहाडी लोक मार्ग आयोजनाले जेसिभी मेसिन परिचालन गर्ने, निर्माण कार्यालयले तोकिएको अवधिभित्र रानिकोट–किटनी खण्डको काम सम्पन्न गर्ने र नेपाल पत्रकार महासंघ रुकुम पूर्वले सडक बन्द तथा वैकल्पिक मार्गसम्बन्धी सूचना व्यापक रूपमा प्रसारण तथा प्रकाशन गर्ने जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।
उक्त निर्णय स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, मध्य पहाडी लोक मार्ग योजना कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा गरिएको रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काले जानकारी दिनुभएको छ ।