Kakhara सबैको खबर सम्पूर्ण खबर
उद्घाटन गरेको एक महिना नपुग्दै वडा कार्यालय भवन अज्ञात समुहद्धारा तोडफोड

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित भवन अज्ञात समूहले तोडफोड गरेका छन् । शनिवार राती अज्ञात समूहले वडा कार्यालय भवन तोडफोड गरेका हुन् । तोडफोडबाट भवनमा लगाएका सिसाका झ्याल, ढोका, विद्युतका स्विचहरूमा क्षति पुगेको वडाध्यक्ष शशिराम विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिवार राती वडा कार्यालय नजिकै स्थानीयको बिहेको प्रीतिभोज भएको हुँदा रातको समयमा मादक पदार्थ सेवन गरी वडा कार्यालयको भवनमा तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । ‘‘वडा कार्यालय भवन अज्ञात समूहले तोडफोड गरेको पाइयो, कार्यालय भवनमा भौतिक क्षति पुगेको  छ, कसले किन वडा कार्यालयको भवन तोडफोड गर्‍यो प्रहरीलाई खबर गरेका छौ, तोडफोड गर्ने समूह थाहा पाएमा जो कोहीले वडा कार्यालयलाई जानकारी दिन समेत आग्रह गरेका छौँ वडा अध्यक्ष विकले भन्नुभयो ।’’

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।तोडफोड गरिएको नवनिर्मित भवन दुई तले रहेको छ । जसमा पाँच वटा कोठा, चार वटा शौचालय तथा वासरुप रहेका छन् । ६५ लाखमा निर्मित वडा कार्यालय भवन यही असोज ८ गते उद्घाटन गरी सेवा सुचारु गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update