Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा २ वर्षमा २ सय ४६ नाल भरुवा बन्दुक बरामद 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले २ वर्षमा २ सय ४६ नाल भरुवा बन्दुक बरामद गरेको छ । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा उक्त परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो । आर्थिक वर्ष २०७९/०८० मा एक सय ३५ र गत आर्थिक वर्ष २०८०/०८१ मा एक सय ११ नाल बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । तीन गाउँपालिका मध्ये भूमे गाउँपालिकाका विभिन्न ठाउँबाट सबैभन्दा बढी एक सय १० नाल बन्दुक बरामद गरिएको छ ।

भूमेबाट आर्थिक वर्ष २०७९/०८० मा ५८ र आर्थिक वर्ष २०८०/०८१ मा ५२ नाल बन्दुक बरामद गरिएको हो । सिस्ने गाउँपालिकामा दुई आर्थिक वर्षमा ७४ नाल बन्दुक बरामद गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा ६३ र आर्थिक वर्ष २०८०/०८१ मा ११ नाल बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाबाट सबै भन्दा कम बन्दुक बरामद भएका छन् । दुई आर्थिक वर्षमा पुथाबाट ६२ नाल मात्र भरुवा बन्दुक बरामद गरिएको छ । 

आर्थिक वर्ष २०७९/०८० मा १४ र आर्थिक वर्ष २०८०/०८१ मा ४८ नाल बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । बरामद गरिएका कुल बन्दुक मध्ये एक सय ७७ नाल (साबुत) प्रयोग भइरहेका बन्दुक रहेका छन् भने ६९ नाल (बेसाबुत) प्रयोग विहीन भएका बन्दुक रहेका छन् । यस्तै प्रहरी कार्यालयले गत आर्थिक वर्षमा भूमे र सिस्ने गाउँपालिकाबाट प्रयोगमा आइरहेका दुई नाल सानो हातहतियार पनि बरामद गरेको छ । पछिल्लो समय जिल्लामा भरुवा बन्दुक फेला पर्ने क्रम बढी रहेको प्रहरीले जनाएको छ ।

नागरिकहरूमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा लाग्छ भन्ने चेतना बढेको र त्यसकै कारण पनि भरुवा बन्दुक बरामद हुने क्रम बढेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । मुद्दाको डरमा मानिसहरूले गाउँ नजिकको वन तथा ओढारमा बन्दुक राख्ने गरेको उहाँको भनाई छ । समग्रमा नागरिकहरूमा बन्दुक घरमा राख्नु हुन्न भन्ने चेतना बढेको उहाँले बताउनुभयो। प्रहरीले गोप्य सूचनाको आधारमा बन्दुक बरामद गर्ने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update