रुकुम पश्चिममा मापसे तथा लापसे चेकजाँचमा कडाइ, ३३ सवारी चालकको परीक्षण गर्दा कति परे कारवाही ?

रुकुम पश्चिममा सडक दुर्घटना न्यूनीकरण तथा सवारी अनुशासन कायम गर्ने उद्देश्यले मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध पदार्थ सेवन (लापसे) सम्बन्धी चेकजाँच अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा आज मुसिकोट नगरपालिका–४, सितलपोखरीस्थित राप्ती राजमार्ग सडक खण्डमा चेकजाँच गरिएको हो । चिकित्सकसहितको संयुक्त टोलीले सार्वजनिक सवारीसाधनका चालकलाई लक्षित गरी चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा लागुऔषध सेवनतर्फ ३ जना,मादक पदार्थ सेवनतर्फ २० जना र अन्यतर्फ १० जनाको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक नवीन अधिकारीले  जानकारी दिनुभयो ।  उहाँका अनुसार लागुऔषध सेवनतर्फ गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ भने मादक पदार्थ सेवनतर्फ १ जना र अन्य कारबाहीतर्फ २ गरी ३ जनालाई कारबाही गरिएको छ । चालकलाई आवश्यक कानुनी दायरामा ल्याउँदै सुरक्षित तथा जिम्मेवार ढंगले सवारीसाधन चलाउन प्रेरित गर्ने र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रमुख केसीले जानकारी दिनुभयो ।

सवारी चलाउँदा मादक पदार्थ तथा लागुऔषध सेवन नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ । चाडपर्वमा यस्ता गतिविधि झन बढी हुने भएकाले तिहार पर्व जजिकिएसँगै सवारी चेकजाँचलाई कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update