Kakhara सबैको खबर सम्पूर्ण खबर
उपचुनावका लागि सानीभेरी ५ मा दुई मतदान केन्द्र, १४ सय ३४ मतदाता  
फाइल फाेटाे ।

मङ्सिर १६ गते हुने स्थानीय तहको उपचुनाव अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा एउटा मात्र मतदान स्थल कायम गरिएको छ । जसमा दुई वटा मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाल राष्ट्रिय मावि घापाघारमा मतदान स्थल कायम गरेको छ भने क र ख गरी २ वटा मतदान केन्द्रहरू रहेका छन् । 

दुवै मतदान केन्द्रमा कर्मचारी समेत परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मोहनलाल केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी २ जना र कार्यालय सहयोगी १ जना गरी प्रति मतदान केन्द्र ५ जनाका दरले कर्मचारी परिचालन गरेको जिल्ला निर्वाचन अधिकारी केसीले जानकारी दिनुभयो । 

नेपाल राष्ट्रिय मावि क मतदान केन्द्रको मतदान अधिकृतमा गोविन्दप्रसाद कोइराला र ख मतदान केन्द्रमा शशीराम विष्टलाई मतदान अधिकृतका रूपमा खटाइएको छ । त्यस्तै क मतदान केन्द्रको सहायक मतदान अधिकृतमा रमेश खड्का, सहायक कर्मचारीमा कृष्णबहादुर केसी र समशेरबहादुर महत तथा कार्यालय सहयोगीमा तुलवीर ओली रहनुभएको छ । 

ख मतदान केन्द्रको सहायक मतदान अधिकृतमा झकेन्द्र केसी, सहायक कर्मचारीमा युवराज कार्की र ईश्वरीप्रकाश ओली तथा कार्यालय सहयोगमा अयुब खड्कालाई खटाइएको बताइएको छ । त्यस्तै जगेडा मतदान अधिकृतमा निमबहादुर केसी र सहायक मतदान अधिकृतमा दिनेश ओलीलाई राखिएको छ । 

सानीभेरी ५ मा हुन लागेको वडाध्यक्षको उपचुनावका लागि १४ सय ३४ जना मतदाता रहेका छन् । क मतदान केन्द्रमा क्रम सङ्ख्या १ देखि ७ सयसम्मका मतदाताले मतदान गर्ने छन् भने त्यो भन्दा माथि क्रम सङ्ख्या रहेका मतदाताले ख मतदान केन्द्रमा मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको निधन भएपछि उक्त वडामा निर्वाचन हुन लागेको हो । उहाँले नेकपा माओवादी केन्द्रका तीर्थबहादुर खत्रीलाई २८ मतको झिनो मतले पराजित गर्नुभएको थियो । वडाध्यक्षको खत्रीको निधन भएपछि उपचुनावमा पनि नेपाली काँग्रेस र माओवादी केन्द्रकै बिचमा कडा प्रतिस्पर्धा हुँदै छ । 

नेपाली काँग्रेसले स्वर्गीय वडाध्यक्षका भाइ मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले २०७४ सालका वडा सदस्य जसीराम बस्नेतलाई उम्मेदवार बनाएको छ । काँग्रेसलाई नेकपा एमाले र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् भने माओवादीलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । गत निर्वाचनमा पनि माओवादी विरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीले तालमेल गरेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update