परिचय
स्यार्पूताल रुकुम (पश्चिम भाग) जिल्ला बाँफीकोट गाउँपालिकाको वडा नम्बर ३ र ५ को सिमानामा अवस्थित छ । यो ताल मुसिकोट खलङ्गादेखि पाँच कोष उत्तरतर्फ रहेको छ । यो नेपालका सुन्दर तालहरूमध्ये एक हो । नेपालका अन्य तालहरूको तुलनामा यसको विशिष्टता अलग छ । वरिपरि सुन्दर बस्तीहरूको बिचमा रहेको ताल मानवाकृतिका रूपमा देखिन्छ । यसको क्षेत्रफल २.६ वर्ग किलोमिटर रहेको छ । उत्तरतर्फ सुन्दर वनपाखाहरू रहेका छन् । डम्माना, समैजा स्यार्पूतालका जलाधार क्षेत्रहरू हुन् । वर्षात्मा ठूलो क्षेत्र ढाक्ने यस तालको पानी हिउँदमा भने करिब ३५ प्रतिशत मात्र बाँकी रहेको देखिन्छ। स्यार्पूतालको पानी दक्षिण दहगाउँको मुनिबाट छिरेर तलतिर निस्कन्छ । यसरी निस्केको पानीको प्रवाह नै तिल्चा खोला हो । तिल्चा खोला करिब दुई किलोमिटर बगेपछि बालुवाचौरमा गएर सानीभेरीमा मिसिन्छ ।
तिल्चा खोलाको पानीबाट स्यार्पू जलविद्युत आयोजना बाँफीकोट सञ्चालित छ । यस आयोजनाको पावरहाउस बाँफीकोट भाग्लेमा रहेको छ । वर्षात्मा स्यार्पूताल भरिए पछि दक्षिणतिरबाट ढलिन्छ । स्यार्पूतालबाट छिरेको र ढलिएको पानी एकआपसमा मिसिन्छ र पानीको प्रवाह ठूलो हुन्छ । सेतो रङको पानी बग्ने भएकाले यस खोलालाई दही खोला पनि भन्ने गरेको पाइन्छ । बन्चरे खोला, अङ्गारे खोला र बौलाहा छहराबाट बगेर आएको पानीले स्यार्पूताल भरिन्छ । यस तालमा विभिन्न थरिका माछाहरू पाइन्छन् । हाल यस तालमा व्यावसायिक माछा पालन गरेर बिक्री गर्न थालिएको छ । माछापालन र यसको बिक्री वितरणको जिम्मा स्यार्पू सामुदायिक सहकारी संस्थाले लिएको छ ।

स्थानीयबासीहरूले डुङ्गा चलाएर थुप्रै आम्दानी गर्ने गरेका छन् । स्यार्पूतालप्रति पर्यटकको आकर्षणलाई बढाउने र यसको महत्वलाई सर्वव्यापी गर्नका लागि वि.सं. २०६७ साल असोज ११ गतेदेखि १७ गतेसम्म स्यार्पूतालकै दक्षिण किनारामा प्रथम स्यार्पू पर्यटन महोत्सवको आयोजना गरिएको थियो । यस महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका थिए । प्रतिनिधि सभाका सभामुख सम्मानीय सुवासचन्द्र नेम्बाङले समुद्घाटन गरेको उक्त महोत्सवमा उप सभामुख माननीय पूर्णकुमारी सुवेदी, प्रतिनिधि सभा सदस्य माननीय जनार्दन शर्मा, रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको आगमन भएको थियो । यस महोत्सवले स्यार्पूतालको सर्वव्यापीकरण गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । हाल प्रत्येक वर्ष असोज ११ गतेदेखि १७ गतेसम्म स्यार्पू पर्यटन मेला लागिरहेको छ ।
स्यार्पूतालको पर्यावरणीय स्थिति
स्यार्पूतालको उत्तर पश्चिमतर्फ सुन्दर स्यार्पू गाउँ र दक्षिणतर्फ सुन्दर दहगाउँ रहेका छन् । यसको दक्षिण पूर्वतर्फ अमिलाखोला, सिमगाउँ, अनिगाउँका बस्तीहरू रहेका छन् । स्यार्पू गाउँको सिरानमा सुन्दर सल्लेरी वन छ । त्यस वनको माथि सिरानमा काँडागाउँ रहेको छ । त्यस काँडागाउँमा प्रसिद्ध र चर्चित बुढुमस्ट मन्दिर रहेको छ । काँडागाउँको सामुन्ने पारिपट्टि नेपाने गाउँ रहेको छ । माथि सामुदायिक वन र तल लहरै मिलाएर बनाइएका घरहरूले नेपाने गाउँ बडो आकर्षक देखिन्छ । स्यार्पूतालको सिरानमा रहेको खारखोलादेखि उत्तर पश्चिमतर्फ कहालीलाग्दा भिरपाखाहरू रहेका छन् । ती पाखाहरूमा घोरल मृगहरू चरिरहेका हुन्छन् । खारखोलादेखि भित्र रमणीय दादुरेताल, बहुलाछरी र सिमैछरी झरना रहेका छन् ।
तालको उत्तरतर्फ बोद्ले, माजखर्क, कोटका टाकुरा, सिउबाङ जस्ता रमणीय स्थानहरू रहेका छन् । यस क्षेत्रमा बहुमूल्य जडीबुटीहरू पाइनुका साथै विभिन्न थरिका मृग तथा चराचुरुङ्गीहरू पाइन्छन् । यस क्षेत्रमा निगालाका घारीहरू प्रशस्त भएकाले दुर्लभ रातो पाण्डा पनि पाइन्छ ।हिउँदमा पानीको प्रवाह घटेपछि उम्रने दुबोमा गाईभैँसी, घोडा खच्चरहरू चरिरहेको रोमाञ्चक दृश्य हेरिरहूँ झैँ हुन्छ । नरम बलौटे माटोमा दुबो उम्रेको चौरमा विभिन्न प्रकृतिका खेलहरू खेल्न सकिन्छ। पहिले यही चौरमा रुकुम जिल्लाको वीरेन्द्र रनिङ शील्डको आयोजना हुन्थ्यो । यस भूमिमा गोरु, राँगा जुधाउने पनि गरिन्छ । स्यार्पूगाउँको छायाँ स्यार्पूतालमा रोमाञ्चित देखिन्छ । स्यार्पूतालका आसपासमा बुढूमस्ट, दाह्रेमस्ट, शिवालय, कालिका र बराह मन्दिरहरू रहेका छन् । स्यार्पूतालको दक्षिण किनारामा बुढुमस्ट देवताको वाहन फुटासिल्लीको पूजास्थान रहेको छ ।
यस पूजास्थानमा ढुङ्गा बजाएर फुटासिल्लीलाई स्तुति गर्ने प्रचलन छ । बुढुमस्ट देवताको सम्झना गर्दै फुटासिल्लीलाई खिचडी, ध्वजा र चल्लो पनि चढाउने गरिन्छ । असारदेखि भने स्यार्पूताल क्रमशः भरिदै गएर सबै किनाराहरू पुरिए पछि तालको पानी ढलिन्छ । तालबाट बगेर गएको पानीबाट स्यार्पू जलविद्युत आयोजना सञ्चालित छ । बगेको पानीले थुप्रै पानीघट्टहरू चलिरहेका छन् भनेबालुवाचौर, डार्ने, बल्लेपाटा, सल्लेचौर, खोलीबडगाउँका फाँटहरूमा धानखेती भइरहेको छ ।

स्यार्पूतालसम्बन्धी प्रचलित किंवदन्ती
स्यार्पूतालसम्बन्धी तीनओटा मुख्य किंवदन्तीहरू प्रचलित छन्ः
किंवदन्ती १
त्रेतायुगमा बाँफीकोट आसपासमा कुनै पनि मानवीय वस्तीहरू थिएनन् रे । स्यार्पूतालको दक्षिणमा रहेको पैँयाबारामा प्वाङे मगरहरूको वस्ती थियो रे । पञ्चपाण्डव र कौरवबिच युद्ध भएपश्चात् बडेमान्को शरीर भएका पञ्चपाण्डवका माइला भाइ भीमसेन घुम्दै त्यस प्वाङे बस्तीमा पुगेछन् । थकित भएका भीमसेनले त्यस गाउँमा खाना खाएर खारखोला सिरान र दहगाउँतिर पाउ गरेर सुतेछन् । त्यसरी सुत्दा जमिन नै खाल्डो परेको थियो रे । त्यस खाल्डोमा माथिबाट बगरे आएको पानी जम्मा भएर ताल बनेको थियो रे । अहिले पनि स्यार्पूताल मान्छेको शयनाकारमा देखिन्छ । अमिलाखोलामा बायाँ हातको कुहिनो राखी हत्केला छातीमा राखेको, दायाँ हात मेघेखोलातिर पसारेको, बायाँ खुट्टा ऐरेनीतर्फ खुम्च्याएर राखेको र दायाँ खुट्टा फुटेसल्लीतर्फ पसारेर उत्तानो सुतेको देखिन्छ ।
बिहान उठिसकेपछि भीमसेनले एउटा खुट्टा बल्लेजुरी लेक र अर्को खुट्टा थुमालेक गरेर उत्तरतर्फ हानेको ढुङ्गाको छेलो बाँफीकोट गाउँपालिकाको रैपोखरादेखि पूर्वतर्फ पर्ने चिर्थला नजिकैको जमिनमा गाडिएछ । छेलो फुटेर केही भाग स्यार्पू मेघेखोलामा खसेछ । छेलो हानेको त्यस विशाल ढुङ्गालाई हाल डरेडुङ्गा भनिन्छ भने मेघेमा परेको टुक्रालाई मेघेजुर भनिन्छ । डरेढुङ्गा भीरमा अत्यन्त जोखिम अवस्थामा रहेको छ । कुनै समयमा त्यो पल्टियो भने स्यार्पूगाउँमा झर्ने सम्भावना रहेको छ । त्यसको ओडारमा गाउँलेहरूले हिउँदमा सुकेको खर राख्ने गरेका छन् । भीमसेनले आफू सुतेको वरिपरिको जमिन अलि नमिलेको खोल्साखाल्सी परेको जस्तो देखेपछि त्यस जमिनलाई मिलाउने योजना बनाएछन् । बासोले ताछ्ने, बैसाखीले खन्न थालेछन् ।
हाल बासोले हानेको ‘बासताछे’ र बैसाखी हानेको ‘बैसाखी हाने’ नामक स्थानहरू रहेका छन् । त्यस प्रकारका आकृतिहरू स्पष्ट देख्न सकिन्छ । उनले स्यार्पूदेखि उत्तरपश्चिमतर्फ रहेको जमिनमा वैशाखी हान्दा ‘स्याँ स्याँ’ गर्दै डरलाग्दो विशाल सर्प निस्किएछ । वरिपरिका मान्छेहरूले सर्पलाई देखाउँदै ‘सर्प ऊ ! सर्प ऊ !’ भन्न थालेछन् । भीमसेनले त्यस सर्पलाई लखेट्न थालेछन् । भागेको सर्प समैजा लेक, भन्भने लेक हुँदै डोल्पासम्म पुगेछ । सर्पले डोल्पाको रङ गाउँ मास्दै फुई गाउँमा पसेछ । कुखुराको भालेले सर्पले रङ गाउँ खाएर फुई गाउँ खान थालेको सङ्केत गरेपछि भीमसेनले धनुष्काँडले सर्पलाई हानेछन् । धनुष्काँड लागेपछि सर्पको टाउको छुट्टिएछ । त्यस टाउकोबाट बनेको ओडारमा हाल पाँच सय भेडाहरू अटाउन सक्छन् । सर्पको रगतले डोल्पामा पनि ताल बनेको थियो । त्यो ताल सर्पाकार देखिन्छ । स्यार्पूलाई सर्वप्रथम ‘सर्प ऊ’ भनिन्थ्यो रे ।कालान्तरमा ‘सर्प ऊ’ नै अपभ्रंश हुँदै क्रमशः सर्पोउ, स्यार्पोउ, स्यार्पो, स्यार्पू भएको देखिन्छ ।
किंवदन्ती २
स्यार्पूतालको दक्षिणपूर्वतर्फ पर्ने पैँयाबारामा प्वाङे मगरहरूको वस्ती थियो रे । एक दिन एक जना जोगी घण्टी बजाउँदै त्यस गाउँमा आइपुगेछन् । साँझको समयमा त्यस गाउँका कसैले पनि जोगीलाई बास दिएनछन् । त्यस गाउँमा बास नपाएपछि अलि माथि भोटनीगारे गाउँमा पुगेर बास माग्दा पनि कसैले बास नदिए पछि निरास भएछन् । भोटनीगारेको अन्तिम घरमा बस्ने एक जना बुढीआमाले जोगीलाई सर्तसहित बास दिइछन् । बुढीआमाले आफूसँग खानेकुरा केही नभएको बताइछिन् । जोगीले बुढीसँग जे छ त्यही खाने कुरा गरेछन् । बुढीले जोगीलाई भुसको आधा रोटी खान दिइछन् । जोगी आएको भोलिपल्ट बिहानै पैँयाबाराको पूरै जमिन पुरिएको थियो रे । बुढी आमा भने चल्लीखोरमा बसेर बचेकी थिइन् रे । त्यस गाउँमा एक हप्तासम्म कुखुरा बासेको, कुकुर भुकेको सुनिन्थ्यो रे । पछि खारखोलादेखि माथिबाट आएको पानी जम्मा भएपछि ताल बनेको थियो रे ।
किंवदन्ती ३
परापूर्वकालमा त्यस स्थानमा विशाल नदी बग्थ्यो रे । त्यो नदी भासिदैँ गए पछि त्यस ठाउँमा मानवीय वस्ती बसेको थियो रे । त्यस स्थानमाप्वाङेहरूको वस्ती थियो रे । नेपाने नजिकैको जमिन भत्केपछि प्वाङे वस्ती पुरिएको रहेछ । धर्ममा विश्वास गर्ने, कल्याणकारी एक जना बुढीको मात्र घर बाँकी रहेछ । अरु सबै मरेपछि बुढी आमाले अलाप विलाप गर्दै भाग्न थालेको दृश्य देखेपछि अन्य मान्छेहरू आएछन् । त्यस समयमा पहिरो पुरिएका मानिसहरू रोइकराइ गरिरहेको, पशुपन्छीहरू कराइरहेको, कुखुराहरू बासेको, ढिँकी कुटेको र जाँतो पिसेको आवाज सुनिन्थ्यो रे । यसरी पहिरो दक्षिणतिरको जमिन भरिएपछि त्यसैमा खारखोलाको माथितिरबाट आएको पानी जम्मा भएर ताल बनेको भन्ने भनाइ छ । प्वाङे वस्तीकै नामबाट हालको पैँयाबारा नाम रहेको विश्वास गरिन्छ ।
कसैले भने मगरखाम भाषाको “सेरिपु” बाट स्यार्पू भएको भन्ने पनि भनाइ छ । “से” को अर्थ मृग “रि”को अर्थ पानी र “पो” को अर्थ पिउनु हुन्छ । यसको शाब्दिक अर्थ मृगले पानी पिउने स्थान भन्ने हुन्छ । यस स्थानमा मृगले पानी पिउन आउने भएकाले यसलाई स्यार्पू भनिएको हो भन्ने पनि भनाइ छ ।

स्यार्पूताल अतिक्रमण र अदूरदर्शीता
स्यार्पूतालको संरक्षण, संवद्र्धन र जगेर्ना गर्नेतर्फ कसैको तात्विक चासो र चिन्ता रहेको पाइँदैन । बर्सेनि वर्षात्को समयमा नदीमा आएको बाढीले बगाएर ल्याएको ढुङ्गा र बगरले ताल पुरिँदै गइरहेको छ । तालको वरिपरि घुम्ती सडक निर्माण गर्ने क्रममा निस्केको माटो र ढुङ्गालाई तालभित्रै फ्याँक्दा ताल पुरिँदै गएको छ । खासमा तालको वरिपरि घुम्ती पैदल बाटो भए पुग्थ्यो, सडकको आवश्यकता नै थिएन । सडक निर्माण गरिहाले पनि त्यसमा निस्किएको माटो, ढुङ्गा तालदेखि बाहिर ल्याएर व्यवस्थित गर्नु पथ्र्यो ।
मानिसको अदूरदर्शी सोच र व्यक्तिवादी चिन्तनले स्यार्पूताल संरक्षणमा अवरोध र व्यवधान सिर्जना भएको छ । स्यार्पू जलाधार क्षेत्रको आवश्यक संरक्षण र संवद्र्धन तर्फ कसैले पनि दीर्घकालीन सोचाइ राखेको छैन । जलाधार क्षेत्रको अतिक्रमणले स्यार्पूतालको पर्यावरणीय स्खलन भइरहेको छ । अवैध तथा अवैज्ञानिक तवरले वन फँडानी भइरहेको छ । जसको कारण त्यस क्षेत्रबाट वर्षात्मा पहिरो र बाढी आउने सम्भावना एकातिर रहेको छ भने अर्कातिर क्रमशः पानीका मुहानहरू सुक्दै जाने अवस्था रहेको छ । तालको दक्षिणतर्फको जमिनमुनि रहेका ठुला ठुला ढुङ्गाहरूले पानी अड्याएका छन् । ती ढुङ्गाहरू नभएमा ताल नै रहने थिएन ।
हाल आएर विकासका नाममा ती ढुङ्गाहरू क्रमशः निकाल्ने र बिक्री गर्ने काम भइरहेको छ । यसरी ती ढुङ्गाहरू निकाल्दै जाँदा ताल फुट्ने निश्चित छ । जसका कारण स्यार्पूतालको ऐतिहासिकता नामेट त हुन्छ नै । यसको पानीको प्रवाहले दहगाउँ, स्यानीदह, डार्ने, खोलीबडगाउँ, बालुवाचौर, सल्लेचौर लगायतका स्थानमा अथाहा धनजनको क्षति गर्ने देखिन्छ । यसमा सर्वप्रथम जनचेतनामा अभिवृद्धि गरी स्थानीय मानिसहरूमा सकारात्मक सोच र चिन्तनमा विकास गर्नु तत्कालीन आवश्यकता बनिरहेको छ । सरकारी संयन्त्रको समुचित ध्यान समयमा नै पुगेर यसको दीर्घकालीन संरक्षणको योजना बनाउन जरुरी छ ।
स्यार्पूतालको पर्यटकीय सम्भावना र चुनौती
वास्तवमा स्यार्पूतालको सुन्दरता अपार तथा अवर्णनीय छ । तालको पानीको प्रवाह, यसको किनारा, वरिपरिको गाउँबस्ती, डाँडाँकाँडाहरू, झरना, खोँच र वनपाखाहरूमा अतुलनीय शोभा र रमणीयता रहेको छ । यहाँको कञ्चन पानीमा पौडी खेल्दा होस् या डुङ्गा सैर गर्दा होस् स्वर्गीय आनन्द प्राप्त हुन्छ । पानीको प्रवाहमा हाँस, ढुङ्गीफोर, बकुल्लाहरू पौडिरहेका हुन्छन् । पानीभित्र माछाहरू तैरिरहेका हुन्छन् । स्यार्पूतालको पर्यटकीय विकासका लागि स्थानीय सरकारको साथमा स्थानीय वासिन्दा, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाहरूले साझा पहलकदमी गर्नुपर्छ । स्यार्पूताल दृश्यावलोकनका लागि भ्यू टावरहरूको विकास गर्नुपर्छ । व्यावसायिक माछा पालनलाई व्यवस्थित गरी खोजेको समयमा माछा पाइने व्यवस्था मिलाउनुपर्छ । पर्यटकका लागि अर्गानिक खाना र आरामदायी बस्ने व्यवस्था मिलाउनुपर्छ । यसका लागिस्थानीय सरकारबाट नियमन तथा व्यवस्थापन गरिएका पर्यटकमैत्री होमस्टेहरूको विकास गर्नुपर्छ ।

आधुनिक र सुरक्षित डुङ्गाहरूको व्यवस्था गरिनुपर्छ । डुङ्गाहरूमा प्रति व्यक्ति एक लाइफ जकेटको व्यवस्था गर्नुपर्छ । स्यार्पूताल सरसफाई अभियानको प्रारम्भ गरेर फोहोर व्यवस्थापनको योजना बनाउनुपर्छ । स्यार्पूतालको वरिपरि ढलनिकासको व्यवस्था गर्नुपर्छ । तालमा नुहाउने, लुगा धुने तथा भीमल पाट कुहाउने कार्यलाई तुरुन्त प्रतिबन्ध लगाउनुपर्छ । स्यार्पूतालको चारैतिर किनारामा सुन्दर रुखहरू र फूल वाटिकाहरू निर्माण गर्नुपर्छ । यसको संरक्षण र संवद्र्धन गर्नका लागि टोल टोलमा संरक्षण समिति निर्माण गरी कार्यजिम्मेवारी दिनुपर्छ । यसको प्रत्यक्ष तथा परोक्ष निगरानी स्थानीय सरकारले गर्ने व्यवस्था मिलाउनुपर्छ । दहगाउँ, ऐरेनी, नागधारे, अमिलाखोला, स्यार्पूगाउँ, खारखोला, भिरबाटो आदि स्थानमा सार्वजनिक शौचालय, स्नानकोठासहितका आकर्षक प्रतिक्षालय तथा रमणीय नृत्यस्थलको व्यवस्था गर्नुपर्छ ।
ती स्थानहरूमा अर्गानिक खाना, नास्ता र जुसको व्यवस्था गर्नुपर्छ । स्यानीदह, पैँयाबारालाई केराखेती क्षेत्र बनाई केराबाट बनेका विभिन्न परिकारहरू बिक्री वितरण गर्ने व्यवस्था गर्नुपर्छ ।त्यसै गरी काँडामा अनार खेती, नेपानेमा सुन्तला खेती, स्यार्पूमा ऊखु खेती गरेर स्थानीय किसानको आयआर्जनमा अभिवृद्धि गर्नुपर्छ । स्थानीय सरकारले स्थानीय माटो परीक्षण गरी स्थानीय कोदो, फापर, कागुनो, ऊवा आदि परम्परागत बाली उत्पादित क्षेत्र घोषणा गरी ती क्षेत्रका किसानहरूलाई प्रोत्साहन गर्नुपर्छ । स्यार्पूतालबाट बुढुमस्ट मन्दिर दुदिलचौरसम्म, खारखोलादेखि झार्लेगोठसम्म, ऐरेनीदेखि थुुमलेकसम्म रज्जुमार्गको व्यवस्था गरिनुपर्छ । स्यार्पूगाउँदेखि दहगाउँसम्म आवतजावत गर्न आकर्षक झोलुङ्गे पुलको विकास पनि आवश्यक छ ।
खारखोलामा स्यार्पूताल र यसको जलाधार क्षेत्रको वृत्तचित्र टेलिभिजन प्रदर्शनी कक्षको विकास गर्दा पर्यटकलाई स्यार्पूतालको महत्वका बारेमा जानकारी पाउन सजिलो हुने देखिन्छ । फुटासिल्ली पूजा क्षेत्रमा रहेको स्यार्पू प्रवेशद्वारको नजिक यथार्थ दुरी, भौगोलिक अवस्था र धरातलीय स्वरूपको यथार्थता झल्काउने स्यार्पूका आकर्षणहरूको वृत्तचित्र तथा नक्सा प्रदर्शन गरिनुपर्छ ।स्यार्पू प्रवेशद्वारसँगै स्यार्पूतालमा प्रवेश गर्ने पर्यटकहरूले पालना गर्नुपर्ने आचारसंहिताहरू टाँस्नुपर्छ । पर्यटकहरूलाई पूर्ण शान्ति सुरक्षाको प्रत्याभूतिका लागि दहगाउँ र स्यार्पूगाउँमा प्रहरीपोस्टको व्यवस्था गर्नुपर्छ ।

निष्कर्ष
स्यार्पूताल नेपालको अधिक महत्वपूर्ण पर्यटकीय स्थल हो । यसको महिमा र गरिमा प्रशंसनीय छ । यसको प्राकृतिक सुन्दरता र रमणीयताले पर्यटकहरूको ध्यान तानिरहेको छ । हाल स्यार्पूतालमा पर्यटकहरूको सङ्ख्या आशातीत रूपमा बढाउन सकिएको छैन । रुकुम (पश्चिम भाग) जिल्लादेखि स्यार्पूतालसम्मको मोटरबाटोलाई पक्की नभएको कारण गाडीयात्रा अलि कठिन छ । स्यार्पूताल मध्य पहाडी लोकमार्गको नजिक भएको भएको पर्यटकहरूको सङ्ख्या वृद्धि हुने थियो । यसको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकारले निश्चित गुरुयोजना बनाई त्यसको कार्यान्वयन गर्नु पर्दछ ।
स्यार्पू पर्यावरणीय र जलाधार क्षेत्रको संरक्षण र संवद्र्धन गर्नुपर्छ । पर्यटकका लागि नयाँ अनुभूति हुने खाले खानपान, शयन कक्ष, विचरण क्षेत्र आदिको समयानुकूल विकास गर्नुपर्छ । स्यार्पूतालको शोभा र आकर्षणलाई बढाउने दादुरेताल, सिमैछरी झरना, समैजा आदिको पर्यटकीय महत्वलाई उजागर गर्नुपर्छ । स्यार्पूतालको पानी हिउँदमा पनि नघट्ने खालबाट दक्षिणतिरका प्वाँलहरू पुर्नुपर्छ । तालको उत्तरतर्फ लेकमा रहेको वनजङ्गलको अतिक्रमणलाई रोक्नुपर्छ । स्यार्पूतालको संरक्षण र संवद्र्धनमा स्थानीय वासिन्दालाई सचेत र प्रशिक्षित तुल्याउनुपर्छ । यसको संरक्षण र संवद्र्धनका लागि स्थानीय वासिन्दाहरू, स्थानीय सरकार, सम्बन्धित सरोकारवालाहरूको दृढ इच्छाशक्तिको विकास र तीब्र तत्परताको खाँचो रहेको छ । स्यार्पूतालले नेपालको सुन्दरतामा इँटा थप्ने काम गरेको छ ।
राप्ती साहित्य परिषद्काे प्रदीप्त दियालाेबाट ।






-1759842583.jpg)