Kakhara सबैको खबर सम्पूर्ण खबर
संयुक्त अटो संचालक संर्घष समिति : सार्वजनिक रुपमा माफी नमागे संघर्ष जारी राख्ने, अरु केके छन् माग ?

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगामा नगर प्रहरीद्वारा अटो चालकलाई कुटपिट तथा दुर्व्यवहार गरिएको आरोप लगाउँदै संयुक्त अटो चालक सङ्घर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्नमाथि कारबाही र नगरपालिकाबाट सार्वजनिक माफी माग्न माग गरेको  छ ।

गत मङ्गलवार बच्चासहित पाँच जना यात्रु बोकेको अटो नगर प्रहरीले नियन्त्रणमा लिएको र त्यस क्रममा मुसिकोट–१ निवासी अटो चालक सन्तोष विकलाई नगरपालिकाभित्र लगेर कुटपिट तथा अमानवीय व्यवहार गरिएको आरोप लगाउँदै उक्त घटनाले सम्पूर्ण अटो व्यवसायीमाथि अपमान भएको जनाएको छ ।

1000176757-1778684219.jpg
घटनापछि छलफलका लागि पहल गर्दा नगरपालिकाले पीडितलाई नै दोषी देखाउने प्रयास गरेको र कपोलकल्पित विवरणसहित जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई समेत विज्ञप्ति पठाएको समितिको आरोप छ । स्थानीय सरकार आफैँ लज्जास्पद कार्यतर्फ लागेको भन्दै समितिले आपत्ति जनाएको छ । विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित पक्ष घटनाप्रति गम्भीर नदेखिएको उल्लेख गर्दै पीडितले न्याय नपाए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन, ट्राफिक जाम तथा पार्किङ समस्याको दोष अटो व्यवसायीमाथि थोपरेर नगर प्रहरीले विभिन्न बहानामा दुःख दिँदै आएको पनि समितिको भनाइ छ । सङ्घर्ष समितिले नगर प्रहरीको ज्यादती अन्त्य गर्न, अटो व्यवसायी तथा मजदुरलाई सम्मानजनक व्यवहारको ग्यारेन्टी गर्न र पीडितलाई न्याय दिलाउन माग गरेको छ । साथै नगर प्रमुख र उपप्रमुखले सार्वजनिक रूपमा माफी नमागेसम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ ।  

समितिका संयोजक अजिब सुनारले जारी गरेको विज्ञप्तिमा तीन बुँदे मागसमेत अघि सारिएको छ । जसअनुसार चोक तथा साँघुरा बाटोमा थुपारिएको फोहोर तत्काल व्यवस्थापन गर्नुपर्ने, अटो दर्ता तथा नवीकरण शुल्क ५० प्रतिशत घटाउनुपर्ने र अटो सञ्चालनमा लगाइएको ‘सिन्डिकेट’ अन्त्य गर्नुपर्ने माग गरिएको छ । यी माग राख्दै बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश थानीलाई ज्ञापन पत्र समेत बुझाइएकाे छ । 

उता मुसिकोट नगरपालिकाका कर्मचारीहरुले पनि यस विषयमा विज्ञप्ति जारी गर्दै नगर प्रहरीलाई पक्राउ पुर्जी विना प्रहरीले ठाडो हस्तक्षेप गरेकोमा आपत्ति जनाएको छन् । सोही कारण देखाउँदै बुधवार नगरपालिकाकाे सेवा समेत ठप्प पारिएकाे छ ।

स-सम्मान नगर नगर प्रहरीलाई फिर्ता गर्नुपर्ने तथा आफ्नो डिउटीमा खटिएका नगर प्रहरीलाई पक्राउ पुर्जी विना गेट भित्रैबाट प्रहरीको भ्यानमा हालेर लगेकाले माफी नमाग्दासम्म नगरपालिकाबाट प्रदान हुने सबै सेवा ठप्प पार्ने नगरपालिकाको अडान छ । प्रहरीले भने नगरपालिकामा विवाद नमिलेपछि विवाद मिलाउन दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको तर पक्राउ नगरिएकाे जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update