Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा उपप्रमुख सहित १४ जनप्रतिनिधि पद मुक्त 

रुकुम पश्चिममा स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । दल परिवर्तन गरेका जिल्लाको आठबिसकोट नगरपालिकाका उपप्रमुख सहित ६ वडाध्यक्ष, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका सदस्य गरी १४ जनाको पद रिक्त भएको निर्वाचन आयोगले एक सूचना मार्फत जानकारी गराएको छ । 

पद मुक्त हुनेमा आठबिसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाही, सोही पालिका वडा नम्बर १० का अध्यक्ष गणेशकुमार शाह, वडा नम्बर १३ का वडाध्यक्ष टेकबहादुर थापा रहनुभएको छ । 

त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बुढा, ५ का वडाध्यक्ष खुमबहादुर खड्का, सोही पालिकाको वडा नम्बर १० का वडाध्यक्ष वीरेन्द्र रोकाय र ११ का वडाध्यक्ष तुस्से ओली पनि पद मुक्त हुनुभएको छ । 

पदमुक्त हुने अन्यमा जिल्ला समन्वय समिति सदस्य गीताकुमारी केसी र कृष्णबहादुर यरी, चौरजहारी नगर कार्यपालिका सदस्य देवेन्द्र सुनार, वडा नम्बर ३ की दलित महिला सदस्य चरदी कामी, सोही वडाकी महिला सदस्य चन्द्रा बस्नेत, चौरजहारी ५ की दलित महिला सदस्य भिमी सार्की र मुसिकोट नगर कार्यपालिका सदस्य राजु बिक रहेको निर्वाचन आयोगको सूचनामा उल्लेख छ । 

उहाँहरू सबै २०७९ सालको स्थानीय तहको निर्वाचनमा साबिकको नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर हाल बनेको नेपाली कम्युनिस्ट पार्टीले २०७९ सालको निर्वाचनमा निर्वाचित भएका यी जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्यसमितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको भन्दै आयोगले उक्त पद स्वतः रिक्त रहेको जानकारी गराएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update