जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले कर्णाली प्रदेश स्तरीय कुनै पनि कार्यक्रममा पहिलो पटक महिला खेलाडी सहभागी बनाएको छ । पुरुष तर्फ विभिन्न प्रतियोगितामा खेलाडी सहभागी बनाउँदै आएकामा महिला तर्फ भने जिल्लाबाट पहिलो पटक खेलाडी पठाइएको हो ।
जिल्लामा महिला खेलाडी नभएकोले हालसम्म कुनै पनि प्रतियोगितामा महिला खेलाडी सहभागी बनाउन नसकेकामा पहिलो पटक पिएम कप महिला क्रिकेट कर्णाली प्रदेश स्तरीय छनोटमा खेलाडी सहभागी बनाएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।
जिल्लामा केही दिन अघि महिला खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको समन्वयमा जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले महिला क्रियाे फेस्टिभल क्रिकेट कार्यक्रम सञ्चालन गरेको हो ।
दुई दिने कार्यक्रममा १ सय बढी स्कुले बालिका तथा किशोरी सहभागी भएकामा त्यसबाट खेलाडी छनोट गरी प्रदेश छनोटमा सहभागी बनाइएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो । पुरुष तर्फ यसअघि बाटै टिम सहभागी हुने गरे पनि महिला खेलाडी पहिलो पटक सहभागी गराउन सफल भएको बाँठाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाबाट पिएम कप छनोटका लागि ९ जना खेलाडी पठाइएको छ । जिल्लामा महिला खेलाडी उत्पादनका लागि ध्यान केन्द्रित गरिएको अध्यक्ष बाँठाले बताउनुभयो । यसका लागि विद्यालयलाई टार्गेट गरिएको उहाँको भनाई छ । 


                                                
                                                
                                                
                    
                    
                    
                    
                    

-1759842583.jpg)