Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले व्यावसायिक सीप विकासका लागि युवालाई पठायो काठमाडौं 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले युवाहरूलाई व्यावसायिक सिप तथा क्षमता विकासको लागि काठमाडौँ पठाएको छ । व्यावसायिक सीप विकास तालिमका लागि ६० जना युवाहरूले आवेदन पेस गरेकोमा निर्धारित कोटामा छनोट गरेर आठ जना युवाहरूलाई व्यावसायिक सिप विकासको लागि नगरपालिकाले काठमाडौँ पठाएको हो । 

छनोट भएका युवाहरू पाँच महिनासम्म काठमाडौँमा बसेर निःशुल्क व्यावसायिक सीप तथा क्षमता विकास सम्बन्धी प्रशिक्षण एवम् परियोजना काम गर्ने चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चौरजहारी नगरपालिका र सम्भव परियोजनासँगको सहकार्यमा युवाहरूलाई व्यावसायिक तालिम प्रदान गर्न लागिएको हो । सिप विकास तालिमबाट युवाहरूले व्यावसायिक तथा जीवनोपयोगी सीप, तालिम र मार्गदर्शन प्राप्त गर्नेछन् ।

तालिमबाट युवाहरूलाई रोजगारी प्राप्त गर्न वा आफ्नै व्यवसाय सुरु गर्न आवश्यक ज्ञान प्राप्त  हुने विश्वास गरिएको छ । यो तालिमले युवाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै आफ्नै समुदायका लागि उदाहरणीय व्यक्ति बन्न सहयोग पुग्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

सिप विकासका लागि कफी बनाउने, बेकरी, कम्प्युटर, सिभिल, व्युटिपार्लर, मेकानिकल, इलेक्ट्रिकल, कुक, टेलरिङ लगायतका विधामा १८ देखि २५ वर्ष उमेर समूहका ६० युवाहरूको आवेदन परेको थियो । उक्त आवेदन परेका युवाहरूको प्रस्तुतीकरण र अन्तरवार्ता समेतका आधारमा अन्तिम छनोट गरिएको हो।

499275347_3041678882674957_8340308974740979141_n-1747642283.jpg

छनोट भएका सहभागीहरूलाई चौरजहारी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आइबार बधाई तथा शुभकामनाका साथै विधाई गरेको छ । छनोट भएका युवाहरुलाई नगरप्रमुख पुष्प वादी, नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा विएमले दोसल्ला ओेढाएर बधाई ज्ञापन गर्नुभएको थियो । साथै तालिममा सहभागिहरुलाई लगनशील भएर तालिम पूरा गर्न समेत नगरपालिकाले निर्देशन दिएको छ । 

499223064_3041678782674967_270321641956676943_n-1747642234.jpg

प्रकाशित मिति: सोमबार, जेठ ६, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update