रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो रिक्सालाई रुट इजाजत नवीकरण गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सबै अटो व्यवसायीलाई रुट इजाजत नवीकरण गर्न आग्रह गरेको हो ।
विगतमा नगरपालिका क्षेत्र भित्र सञ्चालन हुने गरी रुट इजाजत पत्र लिई सञ्चालनमा रहेका तिन पाङ्ग्रे सवारी धनीहरूले हालसम्म रुट इजाजत नवीकरण नगरी सञ्चालन गरी रहेको भन्ने सूचना प्राप्त भएको भन्दै नगरपालिकाले यथाशीघ्र रुट इजाजत नवीकरण गर्न भनेको हो ।
रुट इजाजत नवीकरण नगरी अटो सञ्चालन गरेको पाइएमा मुसिकोट नगरपालिकाको अटो तथा इ–रिक्सा व्यवस्थापन कार्यविधि, २०७९ परिच्छेद–६ को दफा १४ को खण्ड (ग) बमोजिम कारबाही हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जारी गरेको सूचना मार्फत चेतावनी दिइएको छ ।
रुट इजाजत नवीकरण गर्दा सवारी साधनको बिमा नवीकरण गरेको प्रमाण, सम्बन्धित निकाय (यातायात व्यवस्था कार्यालय) वाट सवारीसाधन चेकजाँच पास गरेको प्रमाण, ब्लु बुक नवीकरण गरेको प्रमाण, नवीकरण गर्न कुनै निकायबाट रोक्का नभएको हुनुपर्ने लगायतका कागजात आवश्यक पर्ने सूचनामा उल्लेख छ ।
मुसिकोटमा दर्ता नगरेरै अटो व्यवसाय सञ्चालन भइरहेको गुनासाहरू समेत आइरहेका छन् । नगरपालिकाले निकै कम मात्र सङ्ख्यामा अटो सञ्चालनका लागि अनुमति दिएको भए पनि ठुलो सङ्ख्यामा अनुमति नलिई अटो सञ्चालनमा रहेकोले दुर्घटनाको जोखिम समेत बढ्दो अवस्थामा छ । अटो सङ्ख्या बढी हुँदा मुसिकोटमा सडक अस्तव्यस्तता बढ्नुका साथै दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाई छ ।






-1759842583.jpg)