Kakhara सबैको खबर सम्पूर्ण खबर
गोतामकोट नियात्रा !

म रुकुमै जन्मेको रुकुमै हुर्केको मानिस भए पनि रुकुममै रहेको गोतामकोटमा जाने अवसर मिलेको थिएन ।  जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सी सरले गोतामकोट यात्रा गर्ने अवसर जुराइ दिनु भएको छ । हामीले बैशा ६ गते गोतामकोटको यात्रा तयारी गरेका थियौ तर सोही दिन बिहान चार बजे देखी परेको मुसलधारे पानीका कारण अन्तिम अबस्थामा आएर यात्रा स्थकित भएको थियो । पछि फेरी २०८२/०२/०३ गतेका दिन हाम्रो भ्रमण सुरु भयो । बिहानै चार बजे उठी आफ्नो सबै तयारी पुरा गरी घर बाट खलङ्गा बजार तिर लागे । खलङ्गा बजारमा पुगे पछि थोरै समयको पर्खाइ पछि जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका गुरु राजु ददेल टुप्लक्कै त्रिवेणि चोकमा आइपुग्नु भयो र मलाइ गाडीमा राखेर बागबजार तिर लम्कनु भयो । बागबजार पुग्न बित्तिकै लेखापाल साब मेरो बहिनी कमला शर्मा पनि हामीसँगै गाडीमा चढिन ।

अलि पर सेरीगाँउमा मुनलाइट स्कुल नजिकै पुगे पछि कम्प्युटर अपरेटर साब मेरो भाइ जयराम के.सी. पनि हामी सँगै गाडीमा चढे । यात्रामा एक पछि अर्को सदस्यको थप हुँदै जाँदा यात्रा थप उत्साहपूर्ण बन्दै थियो । करिब दुई किलोमिटरको यात्रा पुरा गरिसकेपछि हामीहरू पिपलनेटामा पुग्यौ अनि त्यहाँ जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सी. सर, मेडम र सानो नानु पनि हामी सँगै सहभागी हुनु भयो । उहाँको सहभागिताले हामीलाई झनै आनन्दानुभूति प्राप्त भएको थियो । हामीहरू कुरा गर्दै पिपलनेटा बाट ‌ओरालै झर्दै माछिमी, साधनचौर, छिबाङजिउला, हासीबाङ, सिम्ली हुँदै पुल तरेर गरायला तिर हानिइउ । सानीभेरी नदीको तिरतिरै गरायलाको बलिबाङ मतदान केन्द्रको अवलोकन भयो जुन मतदान केन्द्र सदरमुकाम बाट २४ किलोमिटरको दुरीमा रहेको थियो । सानीभेरीको सुसेली सँगै हामीहरू सानीभेरी र ठुली भेरीको संगमस्थल रिम्ना दोभानमा पुग्यौ । सानीभेरी र ठुली भेरीको मिलन हुँदा ठुली भेरीले सानीभेरीलाइ लात हानेर पर धकेलेको पौराणिक किंवदन्तीका बारेमा कुरा गरेउ ।

रिम्ना बाट अगाडी बढ्दै जाँदा हामीहरू छेपारेमा पुगेउ । छेपारेमा पुग्दा त्यहाँको अवस्था गम्भीर देखियो । २०७९ असारमा म मालपोत कार्यालय आठबिसकोट उद्घाटन कार्यक्रममा जाँदा थुप्रै घरहरू भएको रमणीय स्थान थियो तर अहिले जाँदा २०८०/०७/१७ मा आएको विनाशकारी भूकम्प बाट सबैभन्दा रुकुम पश्चिम जिल्लामा क्षति बेहोरेको स्थान थियो छेपारे । त्यहाँ अहिले सम्म पनि पुनर्निर्माण हुन नसकेको देखियो । छेपारे पुन निर्माणको पर्खाइमा बसिरहेको देखियो । अगाडी बढ्दै जाँदा भल्माजिउला, पिपलचौर हुँदै चिसापानीमा गई सर मेडमहरुले नास्ता गर्नु भयो  हामीहरू ७.४५ बजे चिसापानी पुगेका थियौ । तर म, भाइ जयराम  र बहिनी कमला शर्माले भने नास्ता गरेनौ किनकि हामीहरू गौतमका अनुयायी भएकाले गोतामकोटमा पुगी गौतम जन्मथलोको  मालिका भगवतीको दर्शन गर्नका लागी लालायित थियौ । 

चिसापानी बाट ठुली भेरी र नलगाडको संगमस्थलमा रहेको पुल तरेर हामीहरू जाजरकोटको डाँडागाउको फेद हुँदै दल्लीको समीपमा  पुग्छौ । दल्लीमा २०४९ सालमा म गएको थिए त्यति बेलाको दल्ली र अहिलेको दल्लीमा आकास र पातालको फरक भइसकेको रहेछ । त्यति बेला मैले देखेको दल्लीमा ठुली भेरी र नलगाडको  दुई किनाराका बिचमा अवस्थित सम्म परेको भू भाग तलतिर खेत भएको माथितिर टन्न डुङ्गाले छाएका गगनचुम्मी चार तला भएका घरहरू गाउँभन्दा तलतिर रहेको जरुवाको पानी खाने । चार बाली खेती लाग्ने उर्वर भूमि जहाँ म असारको २७ गते पुग्दा चैते धान काटिरहेको देखेको थिए । तर अहिले जाँदा ढुङ्गे घरहरू हराएर पक्की घरहरू भएको खेतीयोग्य सबै जमिनहरू सकिएको जरुवाको पानीको सट्टा कलधाराको पानी खाने गरेको गाउँलेहरू सहरियामा परिणत भएको  दल्ली नगरपालिकामा परिनत भई नगर सरकारलाई आफ्नै प्राङ्गणमा पाएको राडी चामखेत हुँदै दल्ली पैदल हिँडेर पुग्नु पर्नेमा गाडीमै दल्ली पुग्न सकिने गरी परिवर्तन भएको देख्न पाइयो ।

पाइला अगाडी लम्काउँदै जाँदा हामीहरू मन्मइ जिउला पुग्दा राडी जिउलाको राम्रो सँग अवलोकन भयो । रुकुमको राडी जिउला बाट जाजरकोटको मनमइ जिउला जोड्नका लागी बन्दै गरेको पुल र मनमइ जिउलाको भविष्यवाणी गर्दै भविष्यमा राम्रो व्यापारिक केन्द्र बन्ने आकलन गर्न पुग्यौ । हामी मैदे जिउला पुग्दा मैदे जिउलामा भेरी करिडोरको काम तिव्रत्तर रूपमा अगाडी बढिरहेको पाइयो । सडकका दायाँ बायाँ मेसिनरी वाल निर्माण गर्नुका साथै ठाउँठाउँमा कल्भटहरुको निर्माण गर्ने कामले तीव्रता प्रदान गरेको दृश्य देखियो । यसका साथै एकताका भूकम्पले थिलाथिला बनाइएका घरहरू त्यसैमा पनि सडकले आसपासका घरहरू भत्काइएका दृश्यहरू देखिए । हामीहरू तात्रागाँडमा पुग्यौ त्यहाँ पुग्दा खोलामा थोरै पानी देखिएको भएता पनि बर्खाको समयमा खोलाले साह्रै दुःख दिने भएकोले तात्रा गाँडमा पनि खोला भरिमा कल्भट निर्माण भएमा बर्खाको समयमा सहजै यात्रा गर्न सकिने आकलन हामीहरूले गरिऊ । हामीहरु रग्दा पुग्यौ रग्दा भन्दा पारी पट्टी हेर्दा जलीगाड देखियो ।

उभोखोला, स्याला र खदी बाट झरेको खोलाको नाम जली गाँड भन्दा रहेछन् हामीहरूले जलीगाडका किनार किनारै खदी स्यालाका लागी सडक सञ्जालको निर्माण गर्दा खदी स्यालालाइ सहज हुने र हिउँदको समयमा पनि सहजै खदीमा सवारी साधन पुर्‍याउन सकिने कुरा गर्दै खदांङ हुँदै चौखाखोलामा पुग्यौ चैखा बाट बालुवा हुँदै तलछरामा पुग्यौ । पहेँलो ढुंगा भएको पहाडको  माथि पट्टी बाट एकदमै आकर्षक झरना बगिराखेको थियो हामीहरूले मनोरम झरनाको दृश्यावलोकन गरी फोटो सेसन गरी अगाडी बढ्दै जाँदा खोलाको किनारमा खच्चरहरू चरेको देखेका थियौ अझै पनि खच्चर बाट सरसामानहरू ढुवानी गर्ने स्थानहरू रहेछन् भन्ने कुरा खच्चरहरूले स्पष्ट पारिदिएका छन् । यो स्थान जाजरकोट जिल्लाको नलगाड नगरपालिको १३ नम्बर वडामा पर्दो रहेछ । हामीहरू तल्लुबगर पुग्यौ अनि निर्माणाधीन पुल भाँचिएको पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भएको दृष्टान्त हाम्रो अगाडी ठिग्रीङ उभिन आयो । महान् कार्यमा मृत्युबरण गर्न पुगेका श्रमिक प्रति श्रद्धा सुमन अर्पन गर्दै विषम परिस्थितिमा पुल निर्माण सम्पन्न गर्ने ठेकेदारप्रति धन्यवाद ज्ञापन गर्दै जाजरकोटको तल्लुबगर र रुकुमको अनाह ज्युला जोड्ने पुल तर्दै जाजरकोटबाट रुकुमको अनाह तिर प्रवेश प्राप्त गरिऊ । 

बिचबिचमा यात्रालाई थप रोचक बनाउन पहिले सो स्थानमा पुगेका साथीहरू बाट प्रस्ट पार्ने काम भई रहेको थियो यो स्थानमा सबैभन्दा बदी यात्रीका रूपमा उपस्थित ब्यक्ति जिल्ला निर्वाचन अधिकारी ज्यु नै भएको पाइएकोले यात्रा पनि उहाँकै नेतृत्वमा भएको हुँदा अनाह पुगे पछि  हाकिम साबले भेरी करिडोर अन्तरगतको डोल्पा रोड र माथि तिरको गोतामकोट र स्याखदी रुटका बारेमा रोचक रूपमा मुखारविन्द बाट प्रस्ट पार्नु भयो । अनाह ज्युलाको दृश्यावलोकन गर्दा ठुली भेरीका किनारमा अवस्थित निर्माणाधीन  अवस्थामा रहेको सानो बजारिया क्षेत्रको रूपमा मैले पाए । अनाह ज्युलाको दृश्यावलोकन गर्दा भेरी नदीको किनारमा रहेको एउटा सानो खोच जसको  भेरी करिडोर सँग अन्योन्याश्रित सम्बन्ध कायम भएको देखियो ।

अनाह जिउलालाई अङ्कमाल गर्दै भेरी करिडोर अन्तरगतको डोल्पा रोड दुनै पुग्छ । अर्को रोड अनाह ज्युला बाट घुम्तीहरू पार गर्दै गोतामकोट बाट स्यालाखदी सम्म पुग्ने गरी निर्माण भइरहेको छ । अनाहाज्युला सदरमुकाम बाट ६९ किलोमिटरको दुरीमा अवस्थित रहेछ ।  जिल्ला निर्वाचन अधिकारी ज्युले रुकुममा खयर पाइने ठाउँ भनेको एउटा अनाह ज्युला र अर्को चैरजहारि हो भन्दै थप जानकारि दिनु भयो । म अनाह ज्युला पुग्दा हाम्रा गुरु राजु ददेलको ससुराली गाँउ समेत भएकोले एक छिन गाडी रोकि ससुराली घरमा जानु भयो । ससुरालिमा कोइ पनि नदेखिए पछि कोसेली छोडेर आउनु भयो र हामीहरू माथितिर रहेको गोतामकोट तर्फ अगाडी उकालो लाग्यौ मेरो मनमा अनेकौँ प्रश्नहरू उब्जी रहेका थिए । कस्तो होला त गोतामकोट ? एक छिनमा केही किलोमिटरको दुरी पार गरे पछि हामी गोतामकोट पुग्यौ र मेरो प्रतिक्षाको घडी समाप्त भयो ।

म कोटमा पुगे पछि एक छिन  वारिपारि मेरा आँखाहरु डुलाए मलाइ एकदमै आनन्दानुभूति प्राप्त भयो । चित्रीपाटन नयाँडाँडा, पातलदहको घुम्टो ओढेको प्रिय गोतामकोट साँच्चिकै स्वर्गको एक टुक्रा हो जस्तो अनुभूति मलाइ भयो । माथितिर जङ्गल र पानीका मुहान भएको तलतिर जति वर्णन गरे पनि नपुग्ने सम्म गराहरू भएको जताततै ढुङ्गे छानाहरू भएको एकदमै ठुला घरहरू भएको अत्यन्तै उर्वर भूमि भएको भूमि रहेछ । गाउँभन्दा माथितिर जहाँ गौतमहरूको जन्मस्थान जुन स्थानमा बसेका कारण जुन वंशको थर गोतामे बन्न पुगेको थियो । गौतमहरूले नै स्थापना गरेका भगवती जसलाई त्यहाँ मालिका भगवती भनिँदो रहेछ  जुन देवी कनकासुन्दरी देवी हुन उनी विराजमान भएको अत्यन्तै रमणीय स्थान रहेछ गोतामकोट । हाम्रो काम एक काम दुई पन्थ थियो ।

DSC09129-01-1716612041.jpg
एकातिर रमणिय स्थानको यात्रा गर्नु रहेको थियो भने अर्कोतिर मतदान केन्द्रहरुको निरिक्षण गर्नु थियो । हामीहरु कोट बाट अगाडी बढ्दै चैतारा हुदै ओली बंशको उत्पती भएको स्थान चित्रीपाटन बाट झरेको खोला भेरीखोला संगसंगै रहेका गौतम बन्धुहरुका घरहरुलाइ गाँडी बाटै हेर्दै हामीहरु भेरिखोला पारी अलि माथितिर रहेको सरस्वती आधारभुत विद्यालय मिग्री पुग्यौ । मिग्री सडक छेउछाउमा साना साना घुम्टीका  पसलहरु रहेको सानो बजारको रुपमा  स्तरउन्नती हुदै गरेको देखियो । आठबिसकोट न.पा.५ नं. वडाको सरस्वती आ.बी. मिग्रीमा रहेको मतदान केन्द्रको जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सी सरको नेतृत्वमा रहेको टिमबाट निरिक्षण गरियो । मिग्री बाट गोतामकोटतिर फर्केर हेर्दा गोतामकोट अत्यन्तै रमणिय,सुन्दर र सुन्दरताको बर्णन गरेर कहिल्यै नसकिने खालको देखियो । सदरमुकाम बाट मिग्री मतदान केन्द्रको दुरि ७९ किलोमिटर रहेछ । 

मिग्रीमा हामीहरुले स्थानिय समाजसेवी साथै थापागाँउका स्थायी बासिन्दा स्थानिय ब्यापारि जिज्ञासु ब्यत्तित्व लाल बहादुर थापा संग भेट भयो । गोतामकोटको बाहिरी अबस्थाका बारेमा हामीहरुले दृष्यावलोकन गरी सकेका थियौ तर त्यसको भित्री रुप के हो त भनेर हामीहरुले उहाँलाइ सोध्यौ ? उहाँका अनुसार गोतामकोट बाहिरी रुपमा हेर्दा मनमोहक, सुन्दर र उर्वर भुमी हो  । यसका संगै गोतामकोटमा रहेका ति सबै मनमोहक बस्तीहरुको आफ्नै किसीमको कथा रहेछ । गोतामकोटमा रहेका सवै गाँउहरु जाती बिशेषका रुपमा रहेका रहेछन । मिग्रीमा मल्ल ठकुरीको बस्ति रहेछ। भन्डारीगाँउमा भन्डारी, थापागाँउमा थापा, रोगाइगाँउमा बुढा, रिम्कागाँउमा बस्नेत, काथिना गाँउमा सार्की,बि.क., छिमाल गाँउमा गोसाइ ‍( गिरी,नाथ), रगालगाँउमा सिंह ठकुरी, टिमरगाँउमा खत्री, सिम छरिखोलागाँउमा सार्की/बि.क., बिष्टगाँउमा बिष्ट, दमाइगाँउमा दमाइ, कोटगाँउमा शाही/मल्ल ठकुरी /दलित, आरखोलागाँउमा माथि दलित/तल बाहुन, सम्पे मानचौर गौतम/बिष्ट, जातीहरुको बसोबास रहेको भनेर जातीगत गाँउको कथा सुनाउनु भयो । हामी नयाँडाडातिर जाने भनेर माथि थापागाँउतिर लाग्यौ ।

थापागाउ पुग्दा गोतामकोट जस्तो रमणिय स्थान नभएतापनि यसको आफ्नै किसिमको परम्परा रहेछ । भित्तातिर टासिएको जमिन भएको भएतापनि उवाजौको खेती एकदमै राम्रो हुदोरहेछ । मानिसहरु मानो रोपि मुरी उब्जाउने दिनमा उवाजौ भित्र्याउनमा तल्लिन देखिन्थे । उवाजौ पाकेर गाउँभरी पहेलपुर भएको थियो । उवाजौ हरलिक्स उत्पादनका लागी आबस्यक पर्ने भएकोले ब्यापारीहरु घरमै आएर लिने र सोचेअनुरुपको आम्दानी हुदोरहेछ त्यसैले यहाँको प्रमुख बालीको रुपमा उवाजौ नै लगाउदा रहेछन । हामी केही किलोमिटरको उकालो चढेर २५४९ मिटरको उचाइमा रहेको नयाँडाँडाँ भन्ने स्थानमा पुग्यौ । थापागाँउको डाँडाँ, पातलदहको डाँडाँ भन्दाभन्दै पछिल्लो चरणमा नयाँडाँडाँ नामांकरण गरिएको रहेछ । नयाँडाँडाँको पश्चिम उत्तर तर्फबाट करिब ४०००/४१०० मिटरको उचाइमा रहेको ओली बंशको उत्पती भएको र चित्रालेखीको उत्पती भएको स्थान चित्रीपाटन जानका लागी नेपाल सरकारको रु १०९०००००। (एक करोड नौ लाख) को लगानीमा चित्रीपाटन प्रबेश द्वार र चित्रिपाटन पदमार्गको निर्माण कार्य शुरु भइरहेको देखियो ।

DSC09123-01-1716612055.jpg
माथि पाटनमा धरमशाला समेत निर्माण गरिने भनिएको छ भनेर कोट स्थायी ठेगाना भइ हाल नयाँडाँडाँमा पसल ब्यबसाय गर्दै आउनु भएकी दिपा मल्लले जानकारि दिनुभयो । हामीहरुले नयाँडाँडाँबाट स्यालाखदीको खदीगाँउ, स्यालागाँउ र वारीपट्टी पाटागाँउ सुन्दर गाँउहरुको दृष्यावलोकन गरिउ । गाउहरु टाढैबाट हेर्दा मनमोहक र सुन्दर देखिन्थे तर कता कता राज्यको नजर नपुगेको राज्यको अर्कै भु भाग होकि जस्तै अनुभुती भयो । सानी नानीले पानी माग्दा केही खानुहुन्छर भनेपछि नानुलाइ खानेकुरा किनिदिएपछि मात्र पानी खान पाइयो । हुनत आडैमा मिग्रीखोला खानेपानीको कार्यालय थियो तर पानी पाउदो रहेनछ । त्यसपछी देउरालीमा रहेको टिंगाला र धजाहरुले सजाएकी देबीलाइ पाथि चढाइ ओरालो झरेउ।  हामीहरु पहिल्यैको बाटो बाट सिधै  १६०८ मिटरको उचाइ भएको ज्ञाणोदय माध्यामिक बिद्यालय कोट चैतारामा आइ मतदान केन्द्रको निरिक्षण गरी निरिपक्षण सकायौ । सदरमुकाम बाट कोटचौतारा मतदान केन्द्रको दुरी ७४ किलोमिटर रहेछ ।

निरिक्षण सकेर बाहिर आउदै गर्दा आ.न.पा. ४ नं. वडा अध्यक्ष नरसिंह विष्ट ज्यु संग भेट भयो । उहाँ संग छोटो भलाकुसारी गर्दै मैले गौतमहरुको जिज्ञासा राख्दै नौलु जैसीको बारेमा कुरा गरे । नौलु जैसीका बारेमा यस अघि नै हामीलाइ  गौतमकी बुहारी हामीकहाँ आउनुभयो र गौतमको जानकार नौलु जैसी भएको बताउनु भएको थियो । उहाले नौलु जैसी भेरीखोलामा काम गर्न गएको तपाइहरुलाइ समय छ भने म बोलाइ दिन्छु भन्नु भयो । हामीहरुलाइ समय नभएको र तपाइले फोन नम्बर उपलब्ध गराउने गरी हामीहरु जान्छौ भनेर हामीहरु फाँटाफाट भयौ । म, भाइ जयराम  र लेखापाल साब कमला शर्मा बिहान देखी गौतमहरुको जन्मस्थलमा रहेकी गौतमहरुकै भगवती मालिका भगवतिको दर्शन गर्ने भनेर नाङ्गा छाती भोका पेट संग पुगेका थियौं । मन्दिर प्रस्थानका लागि यात्रा शुरु भयो थोरै समयमा हामी मालिका भगवतीको मन्दिरमा पुग्यौ । हामी गौतमहरुको जन्मस्थानका हाम्रै मालिका भगवतिको हामी तिन भाइबहिनीले मन्दिर भित्रै गएर दर्शन गरी मनग्यै आर्सीबाद लियौं ।

जिल्ला निर्वाचन अधिकारी ज्यु, मेडम, सानु नानु र गुरुजीले पनि बाहिर बाटै दर्शन गर्नुभयो । यही ठाँउ बाट देश तथा बिदेशमा रहेका सबै गौतम/गोतामे अत्री गोत्रीयहरु यत्रतत्र भएका हुन । गोतामकोटमा बसेका हुनालेनै गोतामे कहलिएका हुन । कुलचन्द्र गौतमले बनारसमा पढ्दा गोतामे अलि असुद्द भयो गौतम थर लेख भनेर गुरुले  भनेकाले गौतम थर लेखेका हुन । प्रथम गौतम थर लेख्ने ब्यत्ति कुलचन्द्र गौतम हुन । त्यसैले यो रमणिय भुमि गौतम/गोतामेको थर जन्मस्थान गोतामकोटमा एकपटक अवस्य पुगेर सवै गौतमहरुले पुन्य प्राप्त गरौ । त्यसपछि गुरुजी गाडी लिएर रोड हुदै दिदिसासुकहाँ भेट गर्न जानु भयो । हामीहरु मन्दिरबाट सिधै तलतिर सिढिबाट तलतिर ओर्लियौ । मन्दिरमा जानका लागी चौतारा पानीका धाराबाट माथितिर  प्रवेश द्वार संगै जम्मा ४७० सिढिहरु उकालो लागेर पुग्न सकिन्छ ।  हामीहरु प्रवेस द्वारमा आइ तलतिरको सडकै सडक अगाडी बढेउ ।

हिड्दै अगाडी जादा सडकको देव्रेतिर जोत्ने जग्गाको बिचमा एउटा रातो लामो ढुंगा ठाडिएको देखियो । जिल्ला निर्वाचन अधिकारी ज्युले हामीलाइ सबै कुराहरु सुनाइ सक्नु भएको थियो तैपनि बाटामा हिड्दै गर्नु भएकी एकजना आमा लालकुमारी कामीलाइ मैले सोधे यो ढुंगा साधि हो कि के हो आमा ? उहाँले भन्नु भयो यहाँ ठकुरीहरु दुइभाइको भाग बाड्ने क्रममा एउटाले अर्कोको बढी अर्काले अर्काको बढि भनि भाग बाड्न जटिल भइ  झगडा परेर भाग बाड्न नसके पछि माथि सम्पे मानाचौरमा रहेका मालिका भगवति आइ बरावरी रुपमा कोहीले नदेख्ने गरी जग्गा बाडी साधिका रुपमा रहेको ढुंगा हो । यो ढुंगा आफै उत्पती भएको हुदा यसको नाम बर्सीएको ढुंगा भनेर भन्छन । यसलाइ डोजरले पनि निकाल्न सकेन हामीहरु मालिकाको मन्दिर देखी सिद्दका मन्दिर सम्मको जंगल बाट स्याउलासोत्तर, घासपात, काठदाउरा केही पनि ल्याउन मिल्दैन ल्याएमा असुभ हुन्छ र सवैजनाले चोखीनिधि गर्नुपर्छ । मरनतरण भए पछि अहिले नेपालगञ्ज गएका बाहुनका परेल आएर सम्पेमा सिद्दको मन्दिर बनाउदैछन भने पछि गौतमका देवता मालिका भगवति प्रति अझ बढि अगाध आस्था जागेर आयो ।

DSC09126-01-1716612051.jpg
हाम्रा पेटमा मुसा दौडी सकेका थिए । हामीहरुले खानाको अडर के.सी. किराना पसल तथा होटेल मुलातरामा भएको थियो । त्यसैले मन्दिरको दर्शन गरी मनग्य आर्सीबाद थापी र अत्यन्तै सुन्दर, रमणिय, तपोभुमी, देबभुमी र बिराटभुमीलाइ बिदाइका हातहरु हल्लाउदै मालिका भगवतिको अगाध आस्थाबाट प्रफुल्लित हुदै गोतामकोटबाट अनाह ज्युलातर्फ ओरालो लाग्यौ ।  पुराना मानिसहरुले भन्ने गर्दथे जेठो दाङ कान्छो गोताम मैले गोतामकोट पुगेपछि साच्चिकै यी हरफहरुले सार्थकता देखीएको मैले पाए । साच्चिकै दाङ भन्दा कत्ति पनि कम रहेनछ गोतामकोट । 

अनाहज्युला बाट हामीहरु भेरी करिडोर अन्तरगतको डोल्पा रोडतिर अगाडी  बड्यौ । अनाहज्युला बाट लामढुंगा हुदै हामीहरु मुलबजार भन्ने ठाउमा पुग्यौ ।  मुलबजार यानकि मुलातरामा पुगेपछि सुर्योदय माध्यामिक बिद्यालय होलि आ. न. पा. ०६ को निरिक्षण सकायौ ।  सदरमुकाम देखी ७४ किलोमिटरको दुरि रहेछ । पहिलेको मुलातरालाइ अहिले नाम परिबर्तन गरेर मुल बजार नाम राखिएको रहेछ । हामीहरु के.सी किराना पसल ताथा होटेल संगै भएको होटेलमा पुगियौ । पहिल्यै खानाको अडर भएकोले खाना तयारी अबस्थामा रहेछ । के.सी किराना पसल देखे पछि मैले साहुजि गणेश के.सी. लाइ सोधे तपाइ कुन के.सी. हो ? उहाँले जवाफ दिनु भयो म गौतम । अनि मैले पनि भने म पनि त गौतमनै हो । तपाइ यहीकै गौतम हो कि गोतामकोटकै हो ? उहाले जवाफ दिनु भयो म गोताम कोटकै हो । मैले गौतमको बारेमा जिज्ञासा राख्दा उहाले आफुलाइ सवै जानकारी नभएको र म नैलु जैसीको फोन खोजेर उपलब्ध गराउछु भन्नु भयो त्यपछि हामीहरु खानामा सहभागि भयौ । गणेश भाइले दाल, भात, तरकारी र मासु मिठो खाना खुवाउनु भयो ।

हामीहरु खाना खाइ मन्कावगरको मतदान केन्द्रको निरिक्षणमा जानु पर्ने भएकोले गणेश भाइलाइ धन्यबाद दिदै अगाडी बढिउ । त्यसपछि दामाचौर, ज्यामिरे, दरबाङ, सोतीडाँडाँ, मन्कावगर हुदै हामी त्रिबेणीमा पुगेउ । त्रिबेणी रुकुम पश्चिम, जाजरकोट र डोल्पा जिल्ला गरेर तिनवटा जिल्लाको संगमस्थल रहेछ । ठुलीभेरी नदीको छेउमा सानो खोचमा रहेको सानो सानो बजार रहेछ त्रिबेणी । त्रिबेणी पुग्दा हामीहरुले एउटा नया दृष्टान्त देखिउ कहि फलानो होटेल डोल्पा लेखेको छ, कही फलानो होटल जाजरकोट लेखेको छ, कतै फलानो होटल रुकुम लेखेको छ हामीलाइ यो भुभाग कुन जिल्लाको हो त भनेर छुट्याउनै मुस्किल भयो । स्थानियलाइ बुझ्दा जुन जिल्लाको मानिस हो सोही जिल्लाको नाम लेख्ने चलन छ तर यो रुकुम पश्चिम जिल्लाकै भुभाग हो भनेपछी हामिहरु ढुक्क भयौ यो रुकुम पश्चिम जिल्लानै रहेछ भनेर थाहाँ पायौ । माथितिर बाट ठुली भेरी बग्दै आएको पारिपट्टीबाट डोल्पाको जगदुल्ला तालबाट बगेर आएको जगदुल्ला खोला बगेको सुन्दर स्थान रहेछ त्रिबेणी ।

हामीहरुले त्रिबेणीमा पुगेपछि सबै कुरा बुझ्दा रुकुम खाराका दौलत घर्तीले सहादत प्राप्त गरेको स्थान पनि त्रिबेणीमै रहेछ भन्ने पनि थाहा पायौ । चारैतिर ठुलाठुला पहाडले घेरेको बिचमा ठुलीभेरी नदी  र जगदुल्ला खोलाले सुसेली मारिराखेको देख्दा अनायासमै मेरो मनमा एउटा उधारो योजनाको दृष्टान्त अगाडी आउछ मन्कावगरतिर ठुली भेरी बगिरहेको मुखतिर ठुलो प्रखाल लगाइ ठुलिभेरीलाइ ठुलो जलासयका रुपमा बिकास गरी ठुलो जलबिद्युत आयोजनाको निर्माण गर्दा राम्रो हुन्थ्यो होला ? अरु आयोजना भन्दा कम लागतमा निर्माण हुन्थ्यो होला ? सरकारले किन निर्माण नगरेको होला ? यस्तै यस्तै अनुउत्तरित प्रश्नहरु मेरा मनमा उब्जिए । साच्चिकै नेपाल सरकारले नै आयोजना तर्फ ध्यान दिएमा कम लागतमा बढि टिकाउ जलासययुत्त आयोजना निर्माण गर्न सकिने ठम्याइमा हाम्रो समुह पुग्यो ।

DSC09159-01--1716612021.jpg
त्रिबेणी बाटै छिमीगाँउलाइ दिशामार गर्दै हामीहरु फेरी मन्कावगरतिर लागिउ । कालिका आधारभुत बिद्यालय मन्कावगर पुग्दा २.२३ बजिसकेको थियो । मन्कावगरमा पुगेपछि मतदान केन्द्रको निरिक्षण भइरहेको समयमा स्थानिय रोकाय थरका एकजना शिक्षक बिद्यालयमा आउनु भयो थोरै समयको अन्तरालमा जाजरकोटको कुसेमा स्थायी ठेगाना भइ सोही बिद्यालयका प्रधानाधयापक रोकाय थरका सर आइ हामीहरुलाइ खाना खाएनखाएको, खाजा पानी खाउ सर भनेर वडो सिष्टता पुर्वक अनुरोध गर्नुभएको थियो । जामीहरुले सरलाइ भरखरै खाना खाएकाले हामीहरु अहिले केही पनि खादैदौ सर भनेर सरलाइ हामीहरुले धन्यबाद दिदै मन्काबगरबाट अगाडी लागियौ । मनकावगर सदरमुकाम बाट ८९ किलोमिटरको दुरिमा अबस्थित रहेछ । अगाडीकै बाटो हुदै हामीहरु फेरी अनाहाज्युला पुग्यौ । गुरुजीले अगाडी ससुरालिमा कसैसंग भेट नएको हुदाँ ससुरालिमा गइ भेटघाट गरी एक बोरा मकै ल्याइ आउनु भयो । गोतामकोटमा हामीहरुले नयाँ बिशेषता फेला पार्यौ । गोतामकोटका प्रतेक घरहरुमा घर अगाडी रातो, पहेलो सवाहातको धजा लिंगामा राखेर गाडिएको र प्रतेक वर्ष नया फेरिदो रहेछ । मष्ठको पुजा संगै नयाँ धजा सहितको लिंगो फेरिदो रहेछ । संगसंगै प्रतेक घरहरुको माथितिर धुरीमा त्रिशुल गाडेको पाइयो । यसको बारेमा स्थानिय संग जिज्ञासा राख्दा सुरक्षाको प्रतिकका रुपमा त्रिशुल गाडिने गरेको भनेर जानकारि प्राप्त भयो । 
हामीहरुको प्रमुख काम भनेको मतदानकेन्द्रको निरिक्षण गर्ने भएकाले हामीहरुले गोतामकोटका  आठबिसकोट नगरपालिका वडा नं.४, ५ र ६  नं. वडाहरुमा रहेका जम्मा चार वटा मतदानकेन्द्रको निरिक्षणमा सहभागी भयौं । अरु वडाहरुमा १/१ बटा मतदान केन्द्र रहदा ६ नं. वडाको विकट भौगोलिक विकटताका कारण दुइवटा मतदान केन्द्र कायम भएको देखियो । निरिक्षणका क्रममा सरस्वती माध्यामिक बिद्यालय आ.न.पा.६ मिग्री, ज्ञाणोदय माध्यामिक बिद्यालय कोट चौतारा आ.न.पा. ४, सुर्योदयो  माध्यामिक बिद्यालय होली आ.न.पा.६ र कालिका आधारभुत बिद्यालय मन्कावगर आ.न.पा. ६ गरी जम्मा ४ वटा मतदानकेन्द्रको निरिक्षण गर्दा बिद्यालयको प्राङ्गन राम्रो भएको, अरु मतदान केन्द्रमा पानीको राम्रो ब्यबस्था भएको र मिग्रीमा पानीको अलि समस्या देखिएको मनकाबगर र मिग्रीमा घेराबारको आबश्यकता भएको देखियो । सबैभन्दा राम्रो पक्ष सबै मतदान केन्द्रहरुमा धुले बाटो पुगेको देखियो समग्रमा भन्नुपर्दा मतदान मेन्द्रको अबस्था सन्तोसजनक नै देखियो ।

अनाहाज्युला बाट समग्र रुपमा गोतामकटलाइ बिदाइका हातहरु हल्लाउदै हामीहरु सुन्दर गोतामकोटका बारेमा अनुभुतिजन्य छलफल गर्दै तललुबगरको पुल तर्दै पहिल्यकै बाटो हुदै चिसापानी पुगी खाजाखाने तयारी गर्दा खाजा नभएको जानकारि प्राप्त भएको हुदा हामीहरु सिधै सिम्लीमा आइ खाजा खाइ पिपलनेटामा आयौं । पिपलनेटामा हाकिमसाब, मेडम र सानु नानुलाइ  त्यही छोडेर गुरुजी, लेखापाल साव, भाइ जयराम र म खलंगा आइपुग्यौ । यसरी खलंगा बाट गोतामकोट  र गोतामकोट बाट खलंगाको अत्यन्तै मर्मस्पर्सी अनुभुतिजन्य यात्रा पुरा गगियो ।   
 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update