Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाले ल्यायो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । आज भएको गाउँ सभाको १७ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । 

सानीभेरी गाउँपालिकालाई विकास, सुशासन र समृद्धिको उच्च स्तरमा पुर्‍याउन निर्वाचित हुँदै गर्दा लिएका सङ्कल्प तथा प्रतिविद्धताको कार्यान्वयन गर्ने अहम् जिम्मेवारीलाई पूरा गर्ने गरी नीति कार्यक्रम निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

यसका साथै राष्ट्रिय स्तरको १६ औँ पञ्चवर्षीय योजनाको “सुशासन, सामाजिक न्याय र समृद्धि” को सोच, कर्णाली प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को “समृद्ध कर्णाली: सुखारी कर्णालीवासीको”को सोच र गाउँपालिकाकाे दोस्रो आवधिक योजना (आ.ब.२०८०/०८१–२०८४/०८५) को “समृद्ध सानीभेरीबासी–सुखी सानीभेरीबासी” भन्ने मूल ध्येयका नीति कार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी गराउनुभयो । 

नीति कार्यक्रम मुख्य गरी आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना, उद्यमशीलता विकास र पुनर्निर्माण मार्फत स्थानीय आवश्यकता, निर्वाचनका समयमा गरिएका प्रतिविद्धताका आधारमा गाउँपालिकाको विकास, सुशासन र समुन्नतिको आधारमा केन्द्रित रहेको उहाँको भनाई छ । 

गाउँपालिकाले मुख्य गरी कृषि र पशुमा रहेको उत्पादनमा आधारित प्रणालीलाई थप व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, पालिकाको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिने, विकास निर्माणमा देखिएका कमीकमजोरीलाई सुधार गर्ने र गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्य प्रविधि मार्फत मानव विकासको पुँजीको विकासलाई प्राथमिकतामा राखिएको छ । 

त्यस्तै तहगत सरकारको समन्वयमा पालिका भित्र भूकम्पबाट क्षति भएका सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाइ पालिकावासीमा सुशासन प्रत्याभूति गराउने, जिल्लास्थित सबै पालिकाको सामूहिक हित हुने र उच्च प्रतिफल दिने ठुला विकास आयोजनाहरूमा संयुक्त लगानी गर्ने, चालु खर्चमा मितव्ययिता अपनाई पुँजीगत खर्चमा वृद्धि गर्ने र खानेपानी तथा सर सफाइको पहुँचमा सबै सानीभेरीवासीलाई आबद्ध गर्ने कार्यक्रमलाई पनि नीति कार्यक्रममा मुख्य प्राथमिकता दिइएको छ । 

स्थानीय तहले असार १० गतेसम्म नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार सानीभेरी गाउँपालिकाले आज नीति कार्यक्रम ल्याएको हो । जिल्लाको चौरजहारी नगरपालिकाले पनि आजै नीति कार्यक्रम ल्याउँदै छ । अन्य चार पालिकाले भने ल्याउन बाँकी छ ।

हेर्नुहाेस नीति तथा कार्यक्रमकाे पूर्ण पाठ 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update