
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । शनिवारको नगर सभा बैठकमा नगर प्रमुख पुष्प वादीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
‘समृद्ध चौरजहारी: जनउत्तरदायी सरकार’ को दीर्घकालीन सोच हासिल गर्ने गरी आवधिक योजना, परियोजना बैङ्क र मध्यकालीन खर्च संरचना निर्माण गरी योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक समृद्धि र सामाजिक रूपान्तरण सहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशातर्फ केन्द्रित रहेर नीति तथा कार्यक्रम निर्माण गरिएको नगर प्रमुख वादीले बताउनुभयो ।
उहाँका अनुसार नीति कार्यक्रममा आर्थिक मन्दीको चुनौतीलाई पन्छाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय, सुशासन र समृद्ध सँगै शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी, मानव संसाधन विकास र नागरिक शिक्षाको प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिइएको छ ।
नगरको आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपत् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम बनाइएको छ ।
नीति तथा कार्यक्रममा ‘बारीका पाटा र खेतका गरा: बनाऔँ सधैँ हराभरा’ भन्ने नाराका साथ खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, कृषि हाट बजार सङ्कलन केन्द्र सञ्चालन गर्ने, तरकारी तथा खाद्य बिउँको ब्राण्डिङ गरी निर्यात गर्ने, व्यावसायिक कृषकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पहल गर्ने, वास्तविक गरिब घर परिवार पहिचान गरी गरिब परिचयपत्र उपलब्ध गराउने र चौरजहारी विमानस्थललाई विस्तार गर्न सङ्घ सरकारसँग पहल गर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।
देश भित्रका तथा अन्तर्राष्ट्रिय स्तरका स्थानीय तहहरूसँग पनि भगिनी सम्बन्ध स्थापना तथा विस्तार गरी अनुभव आदान प्रदानका साथै लगानी सम्मेलन आयोजना गर्ने, स्थानीय सडकलाई सहिदको नामबाट नामकरण गरिने, नगरभित्रका सहिदको जीवनी हाम्रो चौरजहारी नामक स्थानीय पाठ्यक्रममा समावेश गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै विद्यालय तहको शिक्षाको व्यवस्थापनका लागि नगर शिक्षा विकास कोष सञ्चालनमा ल्याउने र उक्त कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षकले कम्तीमा एक दिनको तलब भत्ता योगदान गर्ने, टोल पढाई तथा अभिभावक शिक्षा कार्यक्रम, अतिथि शिक्षक शिक्षण कार्यक्रम सञ्चालन गर्ने, चौरजहारी रङ्गशाला निर्माणका लागि प्रदेश सरकारमा पहल गर्ने र विद्यालय खेल कार्यक्रमलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रम नगरपालिकाले बताएको छ ।
प्रवर्द्धन गरौँ स्वास्थ्य सेवा: स्वस्थ जीवन र दीर्घायु टेवा भन्ने नाराका साथ स्वास्थ्य क्षेत्रको विकास गर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, शहीद परिवार एकाघरका सदस्यहरू, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू एवम् अति विपन्न गरिब परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूलाई नगर बस तथा एम्बुलेन्स सेवा निःशुल्क गर्ने, अति आवश्यक ठाउँमा सडकको ट्र्याक निर्माण गर्ने र यसअघि नै ट्र्याक खोलिएका सडकको स्तरोन्नति गर्ने पनि नगर प्रमुख वादीले नगर सभामा पेस गरेको नीति कार्यक्रममा उल्लेख छ ।
नीति कार्यक्रमकाे पूर्णपाठ: