Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीले आगामी वर्षका लागि झन्डै ५४ करोडको बजेट ल्यायो (पूर्णपाठ सहित)
बजेट पेस गर्दै गाउँपालिका उपाध्यक्ष कमला राेका ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट झन्डै ५४ करोड रहने भएको छ । १७ औँ गाउँ सभाको आजको बैठकमा उपाध्यक्ष कमला रोकाले गाउँ सभामा पेस भएको नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि आगामी वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो । 

जस अनुसार गाउँपालिकाको आगामी वर्ष २०८२/०८३ को बजेट ५३ करोड ९७ लाख ७ हजार रहने भएको छ । यो बाहेक पालिकामा युएनडिपी, नाफा परियोजना, पाँचतारा युवा संरक्षक मञ्च, सिएमसी नेपाल, आवाज संस्था, टिपिओ नेपाल लगायतका गैरसरकारी सङ्घ संस्थाद्वारा विकास, जीविकोपार्जन, मानसिक स्वास्थ्य प्रवर्द्धन र विपत् व्यवस्थापनको क्षेत्रमा ३ करोड ९१ लाख ५६ हजार ८ सय ९१ रुपैयाँ परिचालन हुने बजेट वक्तव्यमा उल्लेख छ । 

आगामी वर्षका लागि अनुमान गरिएको कुल बजेट मध्ये चालु तर्फ ३९ कराेड ३३ लाख ९२ हजार ४ सय ३२ अर्थात् ७२.८९ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ६३ लाख १४ हजार ५ सय ६७ रुपैयाँ अर्थात् २७.११ प्रतिशत रहेको छ । 

अनुमानित बजेट मध्ये खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट १ करोड २७ लाख ५१ हजार, स्थानीय तह राजस्व बाँडफाँडबाट ३५ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ९ करोड ४३ लाख, सङ्घीय समानीकरण अनुदान ९ करोड ३५ लाख र कर्णाली प्रदेशबाट राजश्व बाँडफाँडबाट १६ लाख बजेट प्राप्त हुने अनुमान छ । 

त्यस्तै कर्णाली प्रदेशबाट समानीकरण अनुदान १ करोड १६ लाख, सङ्घबाट प्राप्त हुने सशर्त अनुदान चालू तर्फ २१ करोड ५५ लाख, सशर्त अनुदान पुँजीगत तर्फ २ करोड ८२ लाख, विशेष अनुदान पुँजीगत ५९ लाख, कर्णाली प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख, सशर्त अनुदान पुँजीगत २ करोड ४५ लाख, चालु ११ लाख ५६ हजार, विशेष अनुदान पुँजीगत ९० लाख आउने अनुमान गरिएको छ । 

यसका अतिरिक्त चालु आर्थिक वर्षमा गाउँपालिकाको ४० लाख मौज्दात रहने र उक्त बजेट पनि आगामी आर्थिक वर्षमा खर्च हुने उपाध्यक्ष रोकाले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update