
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५४ करोड ८६ लाख ३२ हजार बजेट गाउँ सभामा पेस गरेको छ । आज गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गाउँ सभाको १३ औँ अधिवेशनमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेस गर्नुभएको हो ।
कुल बजेट मध्य चालू तर्फ ४१ करोड ५४ लाख ३२ रुपैयाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजश्वबाट २ करोड, सङ्घीय सरकार वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५५ लाख, सङ्घीय सरकार सशर्त अनुदानबाट २५ करोड ६९ लाख, सङ्घीय विशेषतर्फ १ करोड ३७ लाख, सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ८ करोड ३४ लाख बजेट प्रक्षेपण गरिएको छ ।
त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट १ करोड ७ लाख ८० हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ३ करोड ८१ लाख ३२ हजार, प्रदेश सरकार समपूरकतर्फ १ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट १६ लाख ७८ हजार ६ सय ७५ तथा आर्थिक वर्ष २०८१/०८२ मा खर्च नभई बचत हुने रकम १ करोड ६३ लाख ४१ हजार ३ सय २५ बजेट पनि आगामी वर्ष खर्च गरिने छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आन्तरिक राजश्व परिचालन नीति अवलम्बन गरिने उपाध्यक्ष रेउलले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । आन्तरिक स्रोत परिचालन तर्फ एकदमै न्यून राजस्व सङ्कलन हुने गरेको तथ्यलाई बोध गर्दै राजश्वका दररेट र दायराका सन्दर्भमा व्यापक छलफल तथा अध्ययन अनुसन्धान गर्ने, वडा र गाउँपालिका बिचमा सहयोग, सहकार्य र समन्वयको वातावरण निर्माण गर्दै सबै किसिमका आर्थिक क्रियाकलापहरूलाई करको दायरामा समेटी अधिकतम राजश्व परिचालनमा जोड दिने र राजश्व चुहावट नियन्त्रण गर्ने नीति अवलम्बन गर्ने भनिएको छ ।
त्यस्तै आन्तरिक राजश्वका थप स्रोतहरू पहिचान गरी मौजुदा आन्तरिक करका दरहरूलाई लागत प्रभावी बनाइने, कर तिर्ने प्रवृत्तिको विकास गर्ने नीति अवलम्बन गरिने छ समेत भनिएको छ ।