Kakhara सबैको खबर सम्पूर्ण खबर
समृद्ध नगर बनाउने भन्दै कस्ताे आयाे मुसिकोटको नीति तथा कार्यक्रम ? 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १५ औँ नगर सभामा पेस भएको छ । नगर प्रमुख महेन्द्र केसीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । 

नगरलाई आर्थिक समृद्धि, सामाजिक र सांस्कृतिक रूपान्तरण मार्फत समाजवादको लक्ष्य पूरा हुन्छ भन्ने मान्यतामा नीति तथा कार्यक्रम केन्द्रित रहेको नगर प्रमुख केसीले बताउनुभयो । 

नगरको प्रथम पञ्चवर्षीय आवधिक विकास योजनाले अङ्गीकार गरेको 'मुसिकोट नगर–खुसी नागरिक, समृद्ध सहर'को दीर्घकालीन सोच अनुरूप गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण, सन्तुलन, समानता, गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने गरी नीति तथा कार्यक्रम बनेको उल्लेख छ । 

विगतका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै सीमित स्रोत साधन र असीमित विकासका आवश्यकता तथा आकाङ्क्षा बिचको सन्तुलन कायम गर्दै मुसिकोट नगरवासी जनताको जीवनस्तर उकास्ने कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगर प्रमुख केसीले बताउनुभयो । 

नीति तथा कार्यक्रममा सार्वजनिक, ऐलानी, सरकारी प्रति जग्गाको एकीकृत विवरण तयार पारी उपयोगमा ल्याउने, कृषि उत्पादनलाई समूह, सहकारी, निजी फर्म र कम्पनी मार्फत प्रत्यक्ष बजार सँग जोडी स्वरोजगार सिर्जना गर्ने, उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन गर्ने, कृषि उपज केन्द्र स्थापना तथा सञ्चालन, वडा नम्बर २, १३ र १४ लाई कृषि पर्यटनसँग जोड्न पहल गर्ने र वडा नम्बर १० लाई लसुन पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ । 

सुत्केरी पशुलाई सुत्केरी स्याहार भत्ता प्रदान गर्ने, सानीभेरी, साँखखोला र मुग्लुखोला आसपासका खेतीयोग्य जमिनमा सिँचाई सुविधाका लागि खोला तथा नदीको पानी लिफ्टिङ गर्ने, फलफूल, तरकारी तथा किराना पसलहरूमा विषादी र गुणस्तर चेकजाँच गर्ने यन्त्रको व्यवस्था गर्ने, नगरभित्रका बेरोजगारहरूलाई अनिवार्य श्रममा जोड्ने, पर्यटन विकासका लागि पहल गर्ने, नगर अस्पताल निर्माणलाई तीव्रता दिने लगायतका विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update