
रुकुम पश्चिमको आठबीसकोट नगरपालिको पनि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । १८ औँ नगर सभाको आजको बैठकमा नगर प्रमुख रवि केसीले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सामाजिक र भौतिक विकास गर्दै सुशासन र सामाजिक न्यायसहितको समाजवाद स्थापनाको आधार तयार गर्न आवश्यक पर्ने आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई नीति कार्यक्रममा प्राथमिकता दिइएको छ । विशेष गरी जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विस्तृत क्षति आङ्कलन (डिडिए) सम्पन्न भएका सार्वजनिक निजी आवासहरूको पुनर्निर्माणलाई प्राथमिकतामा पारिएको छ ।
उत्पादन र उत्पादकत्वमा वृद्धि, बजारीकरण, उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा सामाजिक न्याय र गरिबी न्यूनीकरणका क्रियाकलापमा नीति तथा कार्यक्रम केन्द्रित रहेको नगर प्रमुख केसीले बताउनुभयो ।
नीति कार्यक्रममा जाजरकोट भूकम्पको कारण क्षतिग्रस्त सार्वजनिक तथा निजी भौतिक सम्पत्तिको विस्तृत क्षति आङ्कलन (डिडिए) को प्रतिवेदनका आधारमा पुनर्निर्माण सम्बन्धी कार्य सङ्घीय सरकार, प्रदेश सरकार र विभिन्न गैर सरकारी सङ्घ संस्थाको समन्वय र सहकार्यमा यसै आ.व. मा तीव्र गतिमा सुरु गर्ने भनिएको छ ।
साथै, विस्तृत क्षति आङ्कलन (डिडिए) गर्न छुटेका, (डिडिए) सम्पन्न भएर पनि पुनर्निर्माणमा नपरेका, निजी आवासहरूको पुनः (डिडिए) गर्ने व्यवस्था समेत मिलाइने छ । नगरपालिकाले (डिडिए)का आधारमा भूकम्पबाट क्षतिग्रस्त निजी संरचनाहरूको पुनर्निर्माण कार्य अघि बढाइने र अन्य सार्वजनिक कार्यक्रम समेत लाग्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पुनर्निर्माणमा स्थानीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने, युवाहरूलाई पुनर्निर्माणमा जोडिन सीपमूलक तालिम प्रदान गर्ने, यसका लागि युवा लक्षित कार्यक्रम मार्फत अनुदानको व्यवस्था गर्ने र पुनर्निर्माण तथा निजी प्रयासमा निर्माण गरिएका नगरवासीका आवासलाई सुरक्षित बनाउन घर बिमा कार्यक्रम सञ्चालन गर्ने समेत नगर प्रमुख केसीले पेस गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
अरू कस्ता कार्यक्रम समेटिए नीति कार्यक्रममा हेर्नुहोस्