
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले चाल आर्थिक वर्ष २०८१/०८२ मा वित्तीय प्रगति झन्डै ७९ प्रतिशत हासिल गरेको छ । गाउँपालिकाले कुल ५४ करोड ८३ लाख १५ हजार ६ सय ७१ रुपैयाँ बजेट विनियोजन गरेकामा ४३ करोड २२ लाख ३३ हजार ४ सय ७९ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ७८. ८२ प्रतिशत हो ।
पुँजीगत बजेटको तुलनामा चालु बजेट खर्चको अवस्था राम्रो रहेको छ । चालु तर्फ ३५ करोड १५ लाख २ हजार ७ सय ७५ रुपैयाँ रहेकोमा ३० करोड ८७ लाख ६४ हजार ३२ रुपैयाँ अर्थात् ८७.८४ प्रतिशत वित्तीय प्रगति रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले जानकारी दिनुभयो ।
पुँजीगत तर्फको प्रगति भने ७३.३४ प्रतिशत मात्र रहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार पुँजीगत तर्फ १९ करोड ६८ लाख १२ हजार ८ सय ९६ रुपैयाँ बजेट विनियोजन भएकामा १२ करोड ३४ लाख ६९ हजार ४ सय १६ रुपैयाँ गाउँपालिकाले खर्च गर्न सकेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले वित्तीय प्रगति हासिल गर्न सहयोग गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, कर्मचारी, व्यवसायी, उपभोक्ता समिति, राजनीतिक दल, विकास साझेदार लगायतलाई धन्यवाद दिनुभएको छ ।