-1739792655.jpg)
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । १५ औँ नगर सभा पछिको दोस्रो बैठकले नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
शुक्रवार बसेको बैठकले गत असार १० गते १५ औँ नगर सभाको पहिलो बैठकमा नगर प्रमुख महेन्द्र केसीले पेस गरेको नीति तथा कार्यक्रम र नगर उपप्रमुख विमलकुमार पुनले पेस गरेको बजेट आवश्यक छलफल पश्चात् केही परिमार्जन सहित पारित गरेको छ । सर्वसम्मत नीति तथा कार्यक्रम र बजेट पारित भएको नगर उपप्रमुख विमलकुमार पुनले जानकारी दिनुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । केही शीर्षकमा बजेट थप घट गर्दै १० गतेको बैठकमै पेस भएको बजेट सभाले पारित गरेको उपप्रमुख पुनले बताउनुभयो ।
त्यस्तै नगरपालिकाले नगरलाई आर्थिक समृद्धि, सामाजिक र सांस्कृतिक रूपान्तरण मार्फत समाजवादको लक्ष्य पूरा गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको थियो ।
नगरको प्रथम पञ्चवर्षीय आवधिक विकास योजनाले अङ्गीकार गरेको ‘मुसिकोट नगर–खुसी नागरिक, समृद्ध सहर’को दीर्घकालीन सोच अनुरूप गुणस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, दिगो विकास, पर्यावरणीय संरक्षण, सन्तुलन, समानता, गरिबी न्यूनीकरण, सुशासन र सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने गरी ल्याइएको नीति तथा कार्यक्रम पनि आवश्यक छलफल सहित पारित भएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।
पालिकाहरूले असार १० गते भित्र गाउँ तथा नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने र असार मसान्तसम्म उक्त नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर सभाबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।।