Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोट नगर अस्पतालबाट एकै वर्षमा साढे ३२ हजार बिरामीले सेवा लिए 

रुकुम पश्चिमको आठविसकोट नगर अस्पताल राडिज्युलाबाट १ वर्षमा ३२ हजार बढी सेवाग्राहीहरूले सेवा लिएका छन् । २०७५ सालको असोज १२ गते उद्घाटन भएको नगर अस्पतालले निरन्तर रूपमा विभिन्न स्वास्थ्य सेवाहरू दिँदै आइरहेको छ ।

जस क्रममा बितेको आर्थिक वर्ष २०८१/०८२ मा ३२ हजार ६ सय ६४ सेवाग्राहीले विभिन्न सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्येमा आकस्मिक सेवा १ हजार ४ सय ११, सुत्केरी सेवा ३ सय ४३, परिवार नियोजन सेवा ५ सय ३९ र खोप सेवा १ हजार ३ सय ९१ जनाले पाएका छन् । 

त्यस्तै ओ.पी.डी सेवा १६ हजार १ सय १३, भिडियो एक्स-रे सेवा ५ हजार ४०, ल्याब सेवा ११ हजार ५ सय ३ जना,  इ.सी.जी सेवा ७६, आँखा उपचार सेवा १ हजार ८ सय १२, स्वास्थ्य बिमा सेवा १७ हजार ८ सय २०, रिफरल सेवा १ हजार २४, क्षयरोग सेवा ४८ जना र कुष्ठरोगको उपचार सेवा २ जनाले पाएको नगर अस्पतालले जनाएको छ । 

मनोपरामर्श सेवा ९ सय ६७, साधा एक्स–रे सेवा ४ हजार ४ सय १४, आइ.पी.डी सेवा ८ सय ३१, फिजियोथेरापी सेवा ४ सय २३, सुरक्षित गर्भपतन सेवा ८६ जना र गर्भ जाँच सेवा १ हजार जनाले पाएको नगर अस्पतालका निमित्त प्रमुख धनञ्जय रिजालले जानकारी दिनुभयो । 

आठबिसकोट नगरपालिकाको पहिलो कार्यकालमा निर्वाचित नेतृत्वले नगर अस्पताल स्थापना गरेको थियो । सम्भवतः देशभरमै पहिलो पटक नगर अस्पताल सञ्चालन गरिएको पूर्व नगर प्रमुख गोर्खबहादुर केसी बताउनुहुन्छ । नगर अस्पताल स्थापनासँगै चिकित्सक सहितको सेवा सुचारु गरिएको थियो । 

साँघुरो भौतिक संरचनाबाट सञ्चालित नगर अस्पताल हाल भने सुविधा सम्पन्न भवनबाट सञ्चालनमा रहेको छ । सरकारले देशभरका विभिन्न स्थानीय तहमा एकै पटक शिलान्यास गरेका पालिका अस्पताल भवन मध्येमा रुकुम पश्चिममा आठबीसकोट नगरपालिकाको पनि भवन निर्माण भएको छ । 

त्यस्तै यो भवन निर्माण सम्पन्न हुनु अघि नै नगर अस्पतालको अर्को सुविधा सम्पन्न भवन निर्माण भइसकेको थियो । यस अस्पतालमा आठबिसकोट नगरपालिका सहित छिमेकी जिल्ला जाजरकोट र डोल्पाबाट समेत उपचारका लागि पुग्ने गरेको नगर अस्पतालका निमित्त प्रमुख रिजालले जानकारी गराउनुभयो । 

अस्पतालबाट सबै प्रकारका स्वास्थ्य सेवा प्रवाह भइरहेको उहाँको भनाई छ । फिजियोथेरापी, मनोपरामर्श र आँखाको उपचार सेवा समेत अस्पतालबाट प्रवाह भइरहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update