आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमति गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा र नेकपा एमालेले रुकुम पश्चिममा संयुक्त चुनावी प्रचार सुरु गरेका छन् । माघ ११ गते केन्द्रीय स्तरमा एमाले र प्रलोपाबिचमा चुनावी तालमेल गर्ने निर्णय भएको थियो । जसअनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रलोपालाई सघाउने छ ।
सोही सहमति बमोजिम जिल्लामा स्थानीय स्तरमा संयुक्त चुनावी प्रचार सुरु भएको प्रलोपाका जिल्ला संयोजक शैलेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आठबिसकोट नगरपालिकामा वडा स्तरमा संयुक्त चुनावी प्रचार सुरु भएको छ । प्रलोपाका उम्मेदवार जनार्दन शर्मा चुनावी घरदैलोको क्रममा आठबिसकोट नगरपालिकामा हुनुहुन्छ । उहाँले हिजो आठबिसकोट नगरपालिका वडा नम्बर ६ मा घरदैलो गर्नुभएको थियो ।
आज वडा नम्बर ५ र ६ गोतामकोटमा घरदैलो तथा जनभेटघाट चलिरहेको संयोजक शर्माले बताउनुभयो । त्यसक्रममा एमालेको स्थानीय पार्टी कमिटी पनि प्रचारमा जोडिएको उहाँले बताउनुभयो । जिल्ला स्तरको परिचालनका लागि भने बैठक गरेर टुङ्ग्याउन लागिएको उहाँले बताउनुभयो ।
आज साँझबाट प्रलोपा र एमालेको संयुक्त बैठक बस्ने र भोली बिहानसम्ममा सबै टुङ्ग्याएर संयुक्त रूपमा चुनावी प्रचारमा होमिने प्रलोपाका जिल्ला संयोजक शर्माले जानकारी दिनुभयो । एमाले रुकुम पश्चिमले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा चुनावी तालमेल लगायतका विषयमा जानकारी गराउने अपेक्षा गरिएको छ ।
तालमेल अनुसार रुकुम पश्चिममा प्रलोपाका जनार्दन शर्मा र रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिएका प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै सघाउने उल्लेख छ । रुकुम पश्चिममा जिल्ला अध्यक्ष नन्दराम देवकोटा तथा रुकुम पूर्वमा केन्द्रीय सदस्य लिलामणी गौतमले उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै कर्णालीका हुम्ला र जुम्ला बाहेकका सबै जिल्ला र साबिक राप्तीका सबै जिल्लामा प्रलोपाले एमालेलाई सघाउने समझदारी बनेको छ ।





-1759842583.jpg)